काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशभरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित नहुन भन्दै प्रत्येक विद्यालयमा कम्तीमा १ जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्न निर्देशन दिएका छन् ।
मन्त्री पुनले बुधबार मन्त्रालयमा ३ वटा साना तर महत्वपूर्ण कदम तत्कालै कार्यान्वयन गर्न निर्देशन दिँदै शिक्षा क्षेत्रमा देखिएका दीर्घकालीन समस्या समाधानतर्फ अघि बढ्ने संकेत गरेका हुन् ।
उनले पहिलो कदमका रूपमा सबै सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य गर्ने नीति अन्तर्गत पठनपाठनका लागि प्रत्येक विद्यालयमा कम्तीमा १ जना कम्प्युटर शिक्षकको दरबन्दी सिर्जना गर्न निर्देशन दिए ।
केही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म ढिलाइ गर्ने प्रवृत्तिले विद्यार्थीलाई अपूरणीय क्षति पुगेको भन्दै मन्त्री पुनले अब बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्नुपर्ने व्यवस्था गर्न निर्देशन दिए । समयमा परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिने चेतावनी पनि उनले दिए । उनले राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाका ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्र निकाल्न सक्ने उदाहरण दिँदै विश्वविद्यालयले पनि त्यसैअनुरूप काम गर्नुपर्ने बताए ।
उनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको क्षेत्रफलभित्र फैलिएको झाडी सफा गर्ने तर ठूला रुख नकाट्ने र आकर्षक बनाउन सुन्दर बगैंचासहित फुटपाथ निर्माण गर्ने निर्देशन दिए ।




प्रतिक्रिया