काठमाण्डु – स्थानीय चुनावमा तालमेल गर्ने निर्णय गरेको पाँच दलीय सत्ता गठबन्धनले ६ महानगरपालिकामा भागबन्डा टुंगो लगाएको छ ।
मंगलबार दिउँसो बालुवाटारमा बसेको सत्ता गठबन्धको बैठकले नेपाली कांग्रेसलाई ३, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई एक/एक महानगर दिने सहमति गरेको हो ।
६ महानगर र ११ उपमहानगरको भागबन्डामा सहमति जुटाउन सोमवारदेखि गठबन्धनको बैठकमा छलफल भएको थियो । तर दलहरुको आ-आफ्नै दावीले भागबण्डा टुंगो लाग्न सकेको थिएन ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमाले विजयी पोखरामा समाजवादीका अध्यक्ष नेपालले बलियो दाबेदारी गर्दै आएका थिए । त्यस्तै कांग्रेसले पनि आफ्नो पोखरामा दाबी गर्दै आएको थियो । तर आजको बैठकमा कांग्रेसले दाबी छाडेपछि ६ महानगरको भागबण्डा टुंगो लागेको हो ।
सहमति अनुसार नेपाली कांग्रेसले काठमाण्डु, ललितपुर र विराटनर महानगरपालिकामा उम्मेदवार उठाउने छ भने माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा उम्मेदवार उठाउने छ ।
यस्तै, एकीकृत समाजवादीले पोखरा महानगरपालिका पाउँदा जनता समाजवादी पार्टीले विराटनगर महानगरपालिकाको भाग पाएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।
सत्तारुढ गठबन्धनमा महानगरबारे भागबन्डा मिले पनि कांग्रेस पोखरा र चितवनका स्थानीय नेताहरु भने असन्तुष्ट छन् । पोखरा र चितवनका नेताहरुले आज प्रधानमन्त्री समेत रहेका सभापति देउवालाई भेटेर पोखरा र चितवन छोड्न नसक्ने बताएका थिए ।




प्रतिक्रिया