महालक्ष्मी नगरपालिकाद्वारा विपन्न परिवारलाई राहत वितरण

महालक्ष्मी नगरपालिकाद्वारा विपन्न परिवारलाई राहत वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर-  महालक्ष्मी नगरपालिकाले विपन्न परिवारलाई राहत वितरणको प्रक्रिया सुरु गरेको छ ।नगरपालिकाको ६८ औं बैठकले नगरभित्र स्थायी तथा अस्थायी बसोबास गर्ने नागरिकहरुका लागि मापदण्ड तयार गर्दै सम्बन्धित वडाहरुबाट तथ्याङ्क संकलन सुरु गरेको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए ।

अति विपन्न, आम्दानीको कुनै स्रोत नभएका दैनिक ज्यालादारी गरी गुजारा चलाउनु पर्ने अवस्थाका व्यक्ति वा परिवारहरुलाई सम्बन्धित वडाले अति विपन्न भनी प्रमाणित गरेकाहरुलाई राहत पाउने मापदण्डभित्र पारिएको छ । यसैगरी सङ्गठित संस्थाहरुमा काम गर्ने बाहेक महालक्ष्मी नगरपालिकाभित्र ज्याला मजदुरी गर्दै आएका अनौपचारिक क्षेत्रमा कार्यरत ब्यक्ति र तिनका परिवारहरु तथा अभिभावकहरु नभएका, आफन्तहरु नभएका तथा अरुको सहयोग एवम् सहायतामा भर पर्नु पर्ने अवस्थाका असहाय, अपाङ्ग अनाथ ब्यक्तिहरुलाई पनि मापदण्डमा पारिएको छ ।

बैठकले त्यसबाहेक नेपाल सरकारले तोकेको राहत वितरणको मापदण्डभित्र पर्ने वर्गका व्यक्ति र परिवारहरु समेतको विवरण सङ्कलन गरी सम्बन्धित वडावाटै राहत वितरणको व्यवस्था मिलाउने निर्णय गरेको छ । यसैबीच नगर कार्यपालिकाको बैठकले कोरोना संक्रमण रोकथामका लागि प्रत्येक वडालाई १ लाख ३५ हजार रुपैयाँ विनियोजन गरेको प्रमुख श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले प्रत्येक वडाहरुमा औषधि छर्कनेदेखि जनचेतनामुलक कामहरु गर्दै आएको छ । नगरपालिकाले विदेशबाट आएकाहरुको लगत संकलन गरेको पनि नगर प्रमुख श्रेष्ठले जानकारी दिए । विदेशबाट फर्केकाहरुहरुको निरन्तर स्वास्थ्य जाँच गरिएको र सेल्फ क्वारेन्टाइनमा बस्न अपिल गरिएको उनले बताए ।

नगरपालिकाले किराना पसल र डिपार्टमेन्ट स्टोरमा इनामेलले चिनो लगाएर एक–एक मिटरको फरकमा ग्राहकलाई लाइनमा राख्न पनि निर्देशन दिएको छ । साथै, अनिवार्यरुपमा ग्राहक र आफूले स्यानिटाइजर प्रयोग गर्न पनि अपिल गरेको छ । नगरपालिकाले नगर क्षेत्रमा किटनाशक औषधि छने कार्यलाई निरन्तरता दिएको छ । नगरपालिकाले किस्ट हस्पिटलसँगको सहकार्यमा ६० आइसोलेसन बेड र २० वटा आईसीयुको व्यवस्था गरेको प्रमुख श्रेष्ठले जानकारी दिए ।