महानगर भागबण्डा : माओवादीलाई भरतपुरकाे मेयर दिन देउवा तयार

महानगर भागबण्डा : माओवादीलाई भरतपुरकाे मेयर दिन देउवा तयार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रलाई भरतपुर महानगरपालिका दिन तयार भएका छन् । ६ वटा महानगरमध्ये कांग्रेसले विराटनगर, काठमाण्डु र ललितपुर महानगर लिने सम्भावना बढेपछि प्रधानमन्त्री समेत रहेका देउवा भरतपुर महानगरपालिका माओवादीलाई दिन तयार भएका हुन् ।

देउवा सकारात्मक बनेपछि २०७४ सालको निर्वाचनमा मेयरमा विजयी भएको माओवादीले पुनः भरतपुरको नेतृत्व पाउने भएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरको मेयरमा पुनः रेणु दाहाललाई दोहोर्याउने इच्छा देखाएका छन् ।

सत्ता गठबन्धनबीच महानगर भागबण्डामा सहमति जुटिसकेको छैन । तर, शीर्ष तहमा चार दलबीच महानगरको भागबण्डाबारे तीनवटा महानगर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक/एकवटा लिनेबारे अनौपचारिक सहमति जुटेको स्रोतले बतायाे ।

माओवादीले पहिला देखि नै भरतपुर महानगरमा दावी गरिरहेको छ । त्यसमा कांग्रेसका जिल्लास्तरीय नेताहरूको दाबी र लविङ पनि चर्कै देखिएको छ । भरतपुर महानगरमा दाबी गर्नेहरूलाई शेखर कोइरालाले उचालेको बुझाइमा देउवा देखिएका छन् । जसपाले वीरगञ्ज पाउने पक्का-पक्की जस्तै रहेको स्रोतले बतायो ।

माओवादीले भरतपुर महानगर पाउने अवस्थामा एकीकृत समाजवादीले भने पोखरा महानगर पाउने सम्भावना बलियो रहेको छ । कांग्रेसभित्र कतिपय नेताहरूले एकीकृत समाजवादीलाई काठमाण्डमा उपमेयर दिएर पोखराको मेयर लिनुपर्ने लविङ पनि गरेको गठबन्धन स्रोतको भनाइ छ । तर, एकीकृत समाजवादी एउटा महानगर नछोड्ने अडानमा छ ।

एमालेले जितेका महानगरमध्ये आधा आफूले पाउनुपर्ने अडानमा एकीकृत समाजवादी रहेको छ । कांग्रेसले काठमाण्डु महानगर नछोड्ने भएकै कारण पोखरा समाजवादीको भागमा पर्ने सम्भावना देखिएको हो । स्रोतका अनुसार महानगरको भागबण्डा लगभग टुंगो लागिसकेको छ ।

नगरपालिका र गाउँपालिकामा हुने तालमेलको विषय टुंगो नलागेका कारणमात्रै चुनावी तालमेलको अन्तिम मोडालिटी नआएको हो । सत्ता गठबन्धनका नेताहरूले आज तालमेलको मोडालिटी टुंगा लगाउने बताइरहेका छन् । अपराह्न ४ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ ।