काठमाण्डु – जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले नेकपाभित्रको आन्तरिक लडाईंले देशमा संकट आएको बताएका छन् । आज बृहत् नागरिक आन्दोलनले गरेको कार्यक्रममा बोल्दै नेता ठाकुरले नेकपाभित्रको आन्तरिक लडाईंका कारण मुलुक संकटमा परेको बताएका हुन् ।
उनले अहिले नयाँ सरकार निर्माणमा जसपा मुख्य भूमिकामा छ भनिए पनि मुलुक संकटमा परेका बेला आफूहरुको खोजी भएको बताए । ‘मुलुकमा संकट आउँदा मात्रै हाम्रो जरुरत पर्छ । अरुबेला हाम्रो खोजी हुँदैन,’ उनले भने । नेता ठाकुरले ओली सरकारमा भएका कारण आफूहरुले अहिले ओलीसँग वार्ता गरिरहेको भए पनि प्रचण्डले जस्तो ओली सरकारलाई समर्थन नगरेको बताए ।
उनले सरकारमै ओली भएका कारण उनीसँग मधेस र मधेशी जनताको माग पुरा गर्न वार्ता भइरहेको बताए । ‘ओलीलाई समर्थन तपाईंहरु (प्रचण्ड)ले गर्नुभएको छ, आरोप हामीमाथि ?’, ठाकुरले प्रश्न गर्दै भने, ‘हामीले त मधेस र मधेशी जनताको माग पुरा गर्न प्रधानमन्त्रीसँग वार्ता गरिरहेका छौं । हामीले प्रधानमन्त्रीलाई समर्थन गरेका छैनौँ, विरोध पनि गरेका छैनौँ । ’
नेता ठाकुरले आफूहरुले उठाएको माग सम्बोधनका लागि जसले सम्झौता गर्छ उसलाई सहयोग गर्ने पनि स्पष्ट पारे । उनले प्रधानमन्त्री केपी ओलीले आफूहरुको माग पुरा गरिदिने बताएको पनि जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीले हाम्रो माग पूरा गर्छु भन्नु भएको छ । तर हामी लिखित रुपमा सम्झौता भयो भने मात्र विश्वास गर्छौं ।’
अहिलेको परिस्थितिप्रति कांग्रेस सभापति शेरबहादुर देउवा गम्भीर नभएको आरोप छ । कांग्रेसले सरकारको नेतृत्व पनि नचाहको र अविश्वासको प्रस्तावमा पनि जान नचाहेको उनले बताए । ठाकुरले आफ्नो पार्टीका नेताहरु जेलमै रहेको बताउँदै आफूहरु आन्दोलनमै रहेको स्पष्ट पारे ।




प्रतिक्रिया