आधा दर्जन सांसदले छोडे ठाकुरको साथ, उपेन्द्र समूहको बैठकमा सहभागी

आधा दर्जन सांसदले छोडे ठाकुरको साथ, उपेन्द्र समूहको बैठकमा सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)को महन्त ठाकुर पक्षका आधा दर्जन सांसदले ठाकुरको साथ छोडेका छन् ।

अध्यक्ष ठाकुरसँग रहेका २० सांसद मध्ये ६ जना सांसदले उनको साथ छाडेका हुन् । ठाकुरको साथ छोड्नेहरुमा राजकिशोर यादव, प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, रुही नाथ र नरमाया ढकाल रहेका छन् । उनीहरु शुक्रबार अध्यक्ष ठाकुरले बोलाएको बैठकमा सहभागी भएका थिएनन् । श्रोतका अनुसार ती मध्ये केही सांसद अहिले उपेन्द्र यादव समूहको बैठकमा सहभागी भएका छन् ।

जसपाको दुई अध्यक्ष ठाकुर र यादवबीच कुरा नमिल्दा जसपामा औपचारिक रुपमा नफुटे पनि एकताबद्ध हुन सकेको छैन । यता, अर्का अध्यक्ष यादवले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने संकेत गरेका छन् । महन्थ ठाकुरका कारण पार्टी फुटको अवस्थामा आएको तर अझै पनि विवाद मिलाउन खोजेको अध्यक्ष यादवले बताए ।

उनले आफूसंग जसपामा बहुमत रहेका कारण निर्वान आयोगले पार्टी आधिकारिकता आफूलाई नै दिने दाबी गर्दै आइरहेका छन् । यसअघि जसपाका अध्यक्षद्वयले आफूहरूलाई अलग–अलग गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेका थिए ।

जसपामा देखिएको विवाद निरूपण गर्न निर्वाचन आयोगले ५ सदस्यीय इजलास गठन समेत गरेको छ । आयोगले साउन ३ गते बिहान ११ बजे जसपा विवाद निरूपणबारे इजलास बैठक राखेको छ । त्यसका लागि जसपाका दुबै पक्ष अध्यक्षद्वय ठाकुर र यादव पक्षलाई बोलाइएको छ । ठाकुर पक्ष तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि जसपा फुटको अवस्थामा पुगेको थियो ।