संसदमा जसपा दुई धार : महन्थले प्रधानमन्त्रीको तारिफ गर्दा उपेन्द्रको गर्जन

संसदमा जसपा दुई धार : महन्थले प्रधानमन्त्रीको तारिफ गर्दा उपेन्द्रको गर्जन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीको विवाद प्रतिनिधिसभामा देखा परेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव दुई धारमा विभाजित भएका हुन् ।

अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीले आफ्ना पार्टीका नेता कार्यकर्तालाई छुटाएको भन्दै धन्यवाद दिएका छन् । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना माग सुने पनि प्रधानमन्त्री ओलीले पीडा बुझेको भन्दै धन्यवाद दिएका थिए ।

‘गम्भीर त्रुटि संविधान देखिएको छ । हामी संविधान संशोधनको माग गर्छौ । ओली प्रचण्ड र देउवाले माग सुन्नुहुन्छ । प्रमलाई धन्यवाद दिन्छु प्रमले हाम्रो कुरा सुनेर पीडा बुझ्नुभएको छ,’ उनले भने ।

अध्यक्ष ठाकुरले आफ्ना १२० जना कार्यकर्ताहरु जेलबाट छुटेको बताए । उनले अन्य कार्यकर्ता पनि जेलबाट छुट्नुपर्ने बताएका थिए ।

ठाकुरले प्रधानमन्त्रीको तारिफ गरिरहँदा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव आक्रामक रुपमा प्रस्तुत भए । उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने भन्दै विकल्पको बाटो अघि बढिसकेको बताए ।

अध्यक्ष यादवले भने, ‘हामी विश्वासको मत दिन सक्दैनौँ, हाम्रा साथीहरु विश्वासको मतको विरुद्धमा मतदान गर्ने र विकल्प खोज्ने बाटोमा अघि बढिसकेको कुरामा अवगत गराउन चाहन्छु ।’

उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न पाइदैन भन्ने निर्णय गरेको भन्दै संघीयता भनेको केन्द्रको इकाई मात्रै हो, बढ्ता फूर्ति नदेखाऊ भन्दै चेतावनी दिएको बताए ।

‘संविधानमा त्रुटि छ, हाम्रो रिजर्भेसन छ । तर यही सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न पाइदैन भन्ने निर्णय गर्छ । संघीयता भनेको केन्द्रको इकाई मात्रै हो, बढ्ता फूर्ति नदेखाऊ भन्नु हुन्छ ?,’ यादवले भने ।

उनले विगतमा प्रधानमन्त्री ओलीले मधेशीलाई दुर्व्यवहार गरेको आरोप लगाए । अध्यक्ष यादवले विगतमा दुईचार वटा आँप झरेर केही पर्दैन भन्ने प्रधानमन्त्रीको ओलीले अहिले त्यही आँप खुवाउन खोजेको आरोप लगाए ।