अध्यक्ष ठाकुर एक नेताको पक्षमा खुल्दा लोसपा फुटको संघारमा

अध्यक्ष ठाकुर एक नेताको पक्षमा खुल्दा लोसपा फुटको संघारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा विवाद चर्किएको छ ।

अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेशका निलम्बित सांसद अभिरामकुमार शर्मालाई प्रदेश संसदीय दलको नेतामा निरन्तरता दिन खोजेपछि विवाद चर्केको हो ।

शर्मा निलम्बनमा परेपछि रिक्त रहेको संसदीय दलको नेतामा पूर्वप्रदेशमन्त्री जितेन्द्र सोनल चयन भएपछि लोसपामा भाँडभैलो मच्चिएको हो ।

सशस्त्र प्रहरी सई हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट दोषी ठहर भएर शर्मा निलम्बनमा परेपछि मधेशमा लोसपा संसदीय दलको नेताविहीन थियो । करिब १० महिनादेखि रिक्त रहेको दलको नेतामा पार्टीको मधेश प्रदेश अध्यक्षसमेत रहेका सोनल चयन भएपछि ठाकुर असन्तुष्ट बनेका थिए ।

ज्येष्ठ प्रदेश सांसद जयनुल राईनको अध्यक्षतामा शुक्रबार बसेको बहुमत सांसदको बैठकले सोनललाई दलको नेतामा चयन गरेको थियो ।

अध्यक्ष ठाकुरले भने पार्टी अनुशासनविपरीत दलको नेता निर्वाचित गरेको भन्दै सोनललाई स्पष्टीकरण सोधेका छन् । आफूखुसी बैठक बोलाई संसदीय दलको नेता घोषित गरेको भन्दै ठाकुरले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न सोनललाई भनेका छन् । ‘पार्टीको अनुशासन, परम्परा र विधानविपरीत तपाईंले आफूखुसी, पार्टीको निर्देशन र मनसायविपरीत माननीय जयनुल राईनको अध्यक्षतामा दलको बैठक बोलाई आफूलाई नै संसदीय दलको नेता घोषित गरी सभामुखसमक्ष पेस गरेको कदापि मान्य नहुने, साथै तपाईंमाथि अनुशासनको कारबाही किन नगर्ने भन्ने यो पत्र प्राप्त गरेको तीन दिनभित्र सोको कारण खुलाई लिखित जवाफ मागिएको व्यहोरा जानकारी गराउँदछु,’ ठाकुरले सोधेको स्पष्टीकरणपत्रमा भनिएको छ ।

साथै तीन दिनभित्र चित्तबुझ्दो जवाफ नदिए सोनललाई पार्टीबाट निष्कासन गर्ने चेतावनी ठाकुरले दिएका छन् । लोसपाका ८ मध्ये ५ प्रदेश सांसदको बैठकले सोनललाई दलको नेता चयन गरेको थियो । ज्येष्ठ सांसद राईनको अध्यक्षतामा बसेको बैठकमा सोनलसहित रमेश पटेल, रामबाबु यादव र रमिता प्रधान उपस्थित थिए ।

प्रदेश सांसदहरू रानी शर्मा तिवारी, उपेन्द्र महतो र रुपा यादव भने बैठकमा उपस्थित थिएनन् । दलको नेतामा सोनललाई निर्वाचित गर्ने निर्णय बहुमत सांसदहरूले सभामुख रामचन्द्र मण्डललाई बुझाइसकेका छन् । यो निर्णयसँगै लोसपा संसदीय दलको कार्यालयमा सोनलको नेमप्लेट पनि लगाइएको छ ।

तर, अध्यक्ष ठाकुरले भने सभामुख मण्डललाई सोनललाई संसदीय दलको नेता निर्वाचित भएको निर्णय कार्यान्वयन नगर्न पत्र पठाएपछि लोसपामा खटपट सुरु भएको हो । अध्यक्ष ठाकुरले पत्र पठाए पनि सभामुखले भने बहुमतको निर्णय कार्यान्वयन गर्ने बताएका छन्।

निलम्बनमा परेका सांसद शर्मालाई अध्यक्ष ठाकुरले संसदीय दलको नेतामा निरन्तरता दिन खोजेको भन्दै लोसपाभित्र विवाद चर्किएको हो ।

सोनल र शर्मा दुवै लोसपाकै नेता भएकाले कुनै एकको पक्षमा खुल्नु अध्यक्षजस्तो व्यक्तिका लागि ठीक नभएको नेताहरूको भनाइ छ ।

सोनललाई स्पष्टीकरण सोध्ने र सभामुखलाई पत्र पठाएर निर्णय कार्यान्वयन नगर्न ठाकुरले चालेको कदमले पार्टी दुई चिरामा विभाजित हुने आशंका पनि नेताहरूको छ ।