काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुरले वार्ता र संवाद गर्न बनाएको पार्टीकावरिष्ठ उपाध्यक्ष तथा मधेश प्रदेश अध्यक्ष जितेन्द्रप्रसाद सोनारको नेतृत्वमा अर्का वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी र महासचिवद्वय डा. सुरेन्द्रकुमार झा तथा मनिषकुमार मिश्र सदस्य रहने गरी बनाएको समिति खारेज गरेका छन् । अध्यक्ष ठाकुरले आइतबार विज्ञप्ति जारी गरी पुरानो वार्ता समिति खारेज गरेको उल्लेख गरेका छन् ।
ठाकुरले वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ल र वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण रहेको नयाँ उच्चस्तरीय वार्ता समिति गठन गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । विज्ञप्तिमा सहकार्य र एकताको संवादलाई छिटोछरितो निष्कर्षमा पुर्याउन पुरानो खारेज गर्दै उच्चस्तरीय वार्ता समिति गठन गरेको उल्लेख गरेका छन् ।
सोनारको नेतृत्वमा लोसपाले २०८१ पुस २१ गते ५ सदस्यीय समिति बनाएको थियो । खारेज गरिएको समितिलाई
मधेशकेन्द्रित राजनीतिक पार्टीहरूबीच संवाद, सहकार्य, कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेहरूसँग पार्टी एकीकरण गर्नेसम्मको सम्भावना खोजी तथा परिणाममुखी बनाउने कार्यादेश दिइएको थियो । २ साता नबित्दै समिति खारेज गरेर नयाँ बनाएपछि धेरैले शंकाको दृष्टिले हेरेका छन् ।
ठाकुरले सोनललाई विश्वास नगरेर हटाएका हुन् कि भन्ने प्रश्न गर्नेहरू पनि लोसपामै छन् । सोनार अध्यक्ष ठाकुरको चाहनाविपरीत मधेश प्रदेशसभामा बहुमतका आधारमा संसदीय दलको नेता बनेका थिए ।




प्रतिक्रिया