काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लगाइएको आरोप गलत सावित भएको बताएका छन् ।
उनी अदालतको फैसलापछि सोमबार नै रिहा भएका थिए । महरा ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसेका थिए ।
‘म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु,’ विज्ञप्ति जारी गर्दै महराले भनेका छन् ।
महराले थुनामुक्त भएपछि सबैलाई धन्यवाद दिएका छन् । महराले मुलुकको स्वाधीनताको रक्षा पहिलो र उच्च प्राथमिकतामा रहेको बताएका छन् । उनले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)तर्फ संकेत गर्दै यस्तो बताएका हुन् । महराले एमसीसीको विपक्षमा मत राख्दै आइरहेका छन् ।
दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित उनले विज्ञप्ति प्रकाशित गरी भनेका छन् ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ ।’
यस्तो छ महराले जारी गरेको विज्ञप्तिः
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,
अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ । सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ । म सम्मानित अदालतप्रति बिशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु । यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।
म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु । यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु ।
एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ ।
धन्यवाद !
२०७६ फागुन ५
कृष्ण बहादुर महरा
प्रतिनिधि सभा सदस्य, दाङ–२





प्रतिक्रिया