निवर्तमान सभामुख महरा बालुवाटारबाट पक्राउ

निवर्तमान सभामुख महरा बालुवाटारबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –प्रहरीले बलात्कारको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई आइतबार साँझ बालुवाटारस्थित सभामुख निवासबाटै नियन्त्रणामा लिएकाे हाे ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो । महराकै मागअनुसार प्रहरीले उनलाई निजी कारमा राखेर लगेको छ । रातो रंगको गाडीमा गएका उनीसँगै सादा पोसकका प्रहरीहरु खटिएका थिए ।

सुरुमा प्रहरीले उनलाई भ्यानमा लैजान चाहेको थियो । तर उनले निजी गाडीमा जान चाहेपछि प्रहरीले १६ च २९५८ नम्बरको गाडी ल्याएको थियो । तर उनी आफैैंले प्रयोग गर्ने बा १८ च ४०० नम्बरको निजी गाडीमा गए ।

अब उनलाई महानगरीय प्रहरी वृत्त, सिंहरबारमा राखेर अनुसन्धान गरिने प्रहरी स्रोतले बताएको छ । यसअघि आइतबार विहान जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो ।

गत आइतबार रोशनीको कोठामा गएर महराले यौन दुर्व्यवहार गरेको समाचार सार्वजनिक भएका थिए। त्यसपछि उनले सभामुखबाट राजीनामा दिएका थिए। आफूलाई बलात्कार गरेको भनेर सार्वजनिक भएकी शाहीले पछि महराले आफूलाई केही पनि नगरेको बताएकी थिइन्।

तर, प्रहरीले स्वास्थ्य परीक्षण र बयान लिएपछि भने उनले महराले आफूलाई यौन दुर्व्यवहार गरेको भनेर महानगरीय प्रहरी वृत्त बानेश्वरमा जाहेरी दर्ता गरेकी थिइन्। महराविरुद्ध प्रकाउको अनुमति माग्दै प्रहरी आइतबार जिल्ला अदालत काठमाडौं पुगेको थियो। अदालतले महरालाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।