कृष्णबहादुर महरालाई सभामुख र वर्षमान पुनलाई पार्टीको जिम्मेवारी


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेता कृष्णबहादुर महरालाई सभामुख र वर्षमान पुनलाई पार्टीको जिम्मेवारी दिने योजना बनाएका छन् । एमालेसँगको भागबन्डामा सभामुख माओवादीको भागमा परेको छ।

एमालेसँग पार्टी एकीकरण प्रक्रिया जारी रहेको अवस्थामा दाहालले आफ्नो ‘दाहिने हात’ का रुपमा पुनलाई पार्टीको जिम्मेवारी दिन लागेका हुन् । ‘महराजीलाई सभामुख र वर्षमानजीलाई पार्टीको जिम्मेवारी दिने योजनामा अध्यक्षज्यू हुनुहुन्छ,’ दाहालनिकट स्रोतले भन्यो, ‘मुख्यतः एमालेसँग एकीकरणको सवालमा मिलाउनुपर्ने काम अध्यक्षको निर्देशनअनुसार वर्षमानजीले मिलाउन सक्ने भएकाले यस्तो योजना बनेको हो ।’ दाहालनिकट स्रोतका अनुसार पुनमार्फत पार्टी एकीकरण प्रक्रियाका कामकारबाहीमा सहज हुने भएकाले सो योजना बनाइएको हो।

यसअघि पनि दाहालले एमालेसँग हुने पार्टीको काममा नेता पुनलाई नै अघि बढाउँदै आएका थिए । एमालेसँग भागबन्डालगायतका काममा अध्यक्ष दाहालले पुनलाई नै अघि सार्दै आएका छन् । पछिल्लो समय गृहमन्त्री बन्न इच्छुक भए पनि नपाएपछि पुन ऊर्जामा जान सहमत भएका थिए तर दाहालले उनलाई तत्काल सरकारमा नपठाई पार्टी एकीकरण प्रक्रियामा खटाउने योजना बनाएका हुन्।

आगामी पाँच वर्ष प्रतिनिधिसभा चलाउनुपर्ने भएकाले एमालेसँग ‘सिनियर’ नेतालाई सभामुख बनाउनुपर्ने छलफल भएपछि दाहालले महरालाई पठाउने योजना बनाएका हुन् । त्यसका लागि महरा सहमत भइसकेको स्रोतले बतायो । अघिल्लो पटक माओवादीबाट ओनसरी घर्तीमगरले सभामुखको जिम्मेवारी सम्हालेकी थिइन् । एमालेले राष्ट्रपतिमा विद्या भण्डारीलाई दोहोर्‍याएपछि माओवादीमा पनि घर्तीमगरलाई दोहोर्‍याउने चर्चा चलेको थियो।

यस्तै भागबन्डामा परेका मन्त्रालयमा पनि शीर्ष नेतालाई नै पठाउने तयारी माओवादीको छ । राष्ट्रपति र सभामुखको निर्वाचन सम्पन भएपछि मात्रै केपी ओली नेतृत्वको सरकार विस्तार गर्ने योजना छ।
अध्यक्ष दाहालले प्रभावशाली नेतृत्वलाई सरकारमा पठाएर प्रभावकारी काम गर्ने योजना बनाएका छन्।

गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, जनार्दन शर्मामध्ये दुईजना सरकारमा जाने पक्का भएको स्रोतले बतायो । यसैगरी पम्फा भुसाल, बिना मगर, अमनलाल मोदी पनि सरकारमा जाने चर्चा छ ।पार्टी प्रवक्ता पम्फा भुसालले सभामुख र मन्त्रीको चयन गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएकाले तत्काल भन्न नसक्ने बताइन् । ‘मन्त्री चयन गर्ने जिम्मा पार्टीको बैठकले अध्यक्षलाई दिएको छ, अध्यक्षले जसजसलाई पठाउनुहुन्छ, उहाँहरु नै मन्त्री बन्नुहुनेछ’, भुसालले नागरिकसँग भनिन्, ‘तर सभामुख भने भोलि (शुक्रबार) नै टुंगो लगाउने सोचमा छौं।’

माओवादी केन्द्रले गृह मन्त्रालयको जिम्मेवारीमा रामबहादुर थापा र उद्योग मन्त्रालयको जिम्मेवारीमा मातृकाप्रसाद यादवलाई मन्त्री बनाएर पठाइसकेको छ । भागबन्डाअनुसार अब माओवादीले पाँच मन्त्रालयमा मन्त्री पठाउन बाँकी छ । सभामुख र मन्त्रीका विषयमा छलफल गर्न अध्यक्ष दाहालले शुक्रबार केन्द्रीय कार्यालय सचिवालयको बैठक बोलाएका छन्। यो खबर आजको नागरिक दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस
Advertisement