माओवादीमा सक्रिय बन्दै महरा, प्रचण्डले दिए राज्य व्यवस्था मामिला प्रमुखको जिम्मेवारी

माओवादीमा सक्रिय बन्दै महरा, प्रचण्डले दिए राज्य व्यवस्था मामिला प्रमुखको जिम्मेवारी


काठमाण्डु –प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रमा कुनै बेला निकै शक्तिशाली भनेर चिनिने नेता कृष्णबहादुर महरा बिचका केही वर्ष निष्क्रिय थिए । तर,महरा पछिल्लो समय माओवादी भित्र फेरी सक्रिय हुन थालेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र भनेर चिनिएका महरा माओवादीभित्र सधै शक्तिमा रहने नेताका रुपमा चिनिन्थे । तर, सभामुख हुंदा एक जना महिलासंगको सम्बन्धका कारण उनले पदबाट राजीनामा दिनु परेको थियो । उनै महिलाले बलात्कारको आरोप लगाएपछि उनले केही समय जेल जीवन समेत विताउनु पर्यो । यद्यपी अदालतले पछि निर्दोष भएको भन्दै सफाइ दिएपछि महरा रिहा भएका थिए ।

त्यसपछि महराका कान्छा छोरा राहुल महरा माओवादी अध्यक्ष दाहाल नै प्रधानमन्त्री भएका बेला पक्राउ परेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई भेप प्रकरणमा पक्राउ गरेको थियो । त्यसपछि महरा विछिप्त नै बनेको माओवादी स्रोत बताउंछ । महरा निकट एक नेताका अनुसार उनि आफु र आफ्ना छोरालाई पार्टी अध्यक्ष दाहालले संरक्षण नगरेको,अरुको उक्साहटमा लागेको भन्दै महरा उनिसंग आक्रोसित थिए । महराले लामो समय अध्यक्ष दाहालसंग भेटवार्ता गर्न नै बन्द गरेका थिए ।

उनि पार्टीका गतिविधिहरुमा समेत सहभागी हुन छोडेका थिए । तर, महराका छोरा राहुल रिहा भएसंगै उनि पार्टीका बैठक र औपचारिक कार्यक्रममा जान थालेका छन् । महरा र उनका छोरा राहुलमाथि प्रतिशोध सांधिएको भन्ने पनि माओवादीमा धेरै छन् । एमसीसीको प्रस्ताव संसदमा टेवल गर्न महराले आनाकांनी गरेको बेला उनिमाथि बलात्कारको आरोप लागेको थियो ।

बलात्कारको आरोप लगाउने महिला समेत माओवादी कार्यकर्ता नै हुन् । उनका छोरा राहुललाई समेत माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुंदा पक्राउ गरिएको थियो । माओवादी केन्द्रका कतिपय नेताहरु यसलाई पार्टीभित्र अन्र्तविरोधको कारण मान्छन् । त्यतिमात्र हैन कतिपयले भूराजनीतिक कारण समेत यसमा रहेको दावी गर्छन । महराको उत्तरी छिमेकी चीनसंगको सामिप्यता छ । राहुललाई सुरुमा सुन तस्करीको आरोपमा पक्राउ गरिएपनि अन्तिममा उनलाई भन्सार ऐनको अभियोग लगाइएको थियो ।

महरा पछिल्लो समय माओवादी केन्द्रका औपचारिक कार्यक्रममा समेत देखिन थालेका छन् । उनि अध्यक्ष दाहालसंग समेत नियमित संवादमा छन् । महराले माओवादी धारको एकताका लागि समेत पहल गरिरहेका छन् । महरा माओवादीमा प्रचण्डको नजिक रहेर सत्ता राजनीतिको खेलमा लाग्ने नेताका रुपमा चिनिन्थे । पछिल्लो समय उनि विस्तारै सक्रिय हुन थालेको निकट नेताहरुको दावी छ ।

महरालाई अध्यक्ष दाहालले समेत जिम्मेवारी दिन थालेका छन् । माओवादी केन्द्रले गरेको पछिल्लो कार्यविभाजनअनुसार पनि उनलाई महत्वपूर्ण जिम्मेवारी दिइएको छ । हाल पार्टी उपाध्यक्ष रहेका महराले राज्य व्यवस्था मामिला संयोजक र जबस मोर्चा तथा प्रतिष्ठान समूह संयोजकको दोहोरो जिम्मेवारी समेत पाएका छन् ।

त्यसका साथै महरा निकट नेताहरुले समेत पार्टीमा भटाभट जिम्मेवारी पाउन थालेका छन् । महराको समूहमा रहेका केन्द्रीय सदस्य गोविन्द आचार्य त अध्यक्ष दाहालको प्रमुख स्वकिय सचिव नै नियुक्त भएका छन् । महरा निकट नेतृ रेखा शर्माले प्रचार विभाग र कृष्णध्वज खड्कालाई राष्ट्रिय इन्जिनियरिङ संगठनको इन्चार्ज, हिमाल शर्माले अखिल क्रान्तिकारीको इन्चार्जका साथै काठमाण्डौं इन्चार्जको रुपमा जिम्मेवारी पाएका छन् ।