पार्टीभित्र मलाई भलाद्मी नेताको रूपमा चिनिन्थ्यो, कसले मलाई फसाउन खोज्यो : कृष्णबहादुर महरा


काठमाडौं – संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहारको आरोपमा पक्राउपछि मुद्दा चलाइएका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सार्वजनिक भएको छ ।

बयानमा महराले रोशनी डिप्रेसनको रोगी भएको र मर्छु भनेर बेलाबेला आफूलाई धम्की दिने गरेको बताएका छन् । महराले सो दिनपनि रोशनीको धम्कीपछि आफू उनको डेरातर्फ गएको तर फोन नउठेपछि फर्किएको बयान दिएका छन् ।

‘रोशनीले धम्की दिइरहेपछि मैले उनको श्रीमानलाई फोन गरेँ, उनले फोन उठाएनन् । त्यसपछि रोशनीलाई फोन गरेँ, उनले पनि उठाइन् । फोन गर्दै म उनको डेरातर्फ गएँ । फोन नउठेपछि बाहिरैबाट फिर्ता भएँ’, महराले बयानमा भनेका छन् ।

बयानमा महराले आफूले शिक्षक छँदा विद्यार्थीलाई समेत एक लबेटा नलगाएको भन्दै आफूले कसैलाई कुटपीट गर्नै नसक्नै जिकिर गरेका छन् ।

‘१२ वर्षसम्म पढाएँ । विद्यार्थीलाई समेत कहिल्यै पिटिनँ । सर, यसो गर्दा त विद्यार्थीले कहाँ टेर्छन् र भन्थे,’ महराले भनेका छन् ।

महराले पार्टीभित्र पनि आफू भलाद्मी र समन्वयकारी छवीको नेताका रूपमा चिनिने कुरा उल्लेख गरेका छन् ।

‘पार्टीभित्र पनि मलाई भलाद्मी र समन्वयकारी नेताको रूपमा चिनिन्थ्यो, कसले खै किन मलाई फसाउन खोज्यो थाहा भएन,’ महराले बयानमा भनेका छन् ।

श्रीमतीको बयान

महराकी श्रीमती सीताले आफ्नो बयानमा महराले बोक्ने मोबाइल फोन फुटाइदिएको बयान दिएकी छन् । उनले मोवाइल फोनकै कारण घट्ना हुन गएको भन्दै आफू मोवाइल फुटाउने निर्णयमा पुगेको समेत सीताले बयानमा भनेकी छन् ।

सरकारी वकिलको कार्यालय मार्फत अदालतमा दायर अभियोगपत्रमा महराकी श्रीमती सिता महराले दिएको बयानमा ‘मिति २०७६ असोज १३ गते विभिन्न सञ्चारमाध्यमहरुमा मेरो श्रीमान् कृष्णबहादुर महराले मिति असोज १२ गते परिवर्तित नाम (वृत्त नयाँबानेश्वर–२६/३०/२०६७।०७७ लाई निज पीडितको कोठामा गई जवरजस्ती करणी गर्न खोजेको र मेरो श्रीमानको मोवाइलबाट पीडितको मोवाइलमा म्यासेज समेत पठाएको भन्ने समचारहरु आएपछि मलाई रिस उठी सम्पूर्ण समस्याको कारण श्रीमानको मोवाइल ठानी निजले प्रयोग गर्ने मोवाइल मैले खोसेर फाली फुटाइदिएकी थिएँ,’ सीताको बयानमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement