दौरा सुरुवाल लगाएर महराले लिए पद तथा गोपनियताको शपथ


काठमाडौँ– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनिर्वाचित सभामुख महरालाई आइतबार दिउँसो सितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन् ।

महरा शनिबार सभामुखमा निर्बिरोध निर्वाचित भएका थिए । शुक्रबार उम्मेदवारी दर्ता गराएका महरालाई एमाले नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सभामुखमा प्रस्ताव गरेका थिए भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गरेका थिए ।

उनलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४ को नियम ६ (३) बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।

महराले जव दौरा सुरुवाल लगाए …..

शपथग्रहण गर्न महरा दौरा सुरुवाल लगाएर शीतल निवास पुगेका थिए । माओवादी शान्ति प्रक्रियामा आएदेखि लगातार मन्त्री र सांसद भएका महराले यसअघि कहिल्यै पनि शपथग्रहणमा समेत दौरा सुरुवाल लगाएका थिएनन् ।

सभामुख जस्तो संवैधानिक पदमा पुगेपछि मर्यादित पोशाक लगाउनुपर्छ भन्ने अन्य नेताहरुको पनि दबाव आएपछि महराले दौरा सुरुवाल, खरानी रंगको कोट, स्वीटर र भादगाउँले कालोटोपी लगाएका हुन् ।

सभामुख महरामाथि प्रतिनिधिसभाको बैठक सन्चालन गर्दा पनि औपचारिक पोशाक लगाउन दबाव परेको छ । माओवादीबाट दुईजना नेता पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि दौरा सुरुवाल लगाएनन् ।

संवैधानिक पदमा पुगेपछि नन्दबहादुर पुनले भने उपराष्ट्रपति भएपछि दौरा सुरुवाल लगाउने परम्परा बसाएकोमा महराले निरन्तरता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement