महरा प्रकरण :रोशनीको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई उपस्थित गराउन अदालतको आदेश

महरा प्रकरण :रोशनीको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई उपस्थित गराउन अदालतको आदेश


काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले  पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश दिएको छ ।

रोशनी शाहीमाथि बलात्कार गर्न खोजेको र नमान्दा शारिरीक हिंसा गरेको भन्दै महराविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासले पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश दिएको श्रेस्तेदार आनन्द श्रेष्ठले बताए ।

सभामुख पदमा रहेका महराले गत असोज १२ गते साँझ आफूलाई बलात्कार प्रयास गरेको ती कर्मचारीले प्रहरीमा जाहेरी दिएकी थिइन्। उक्त आरोप लागेपछि असोज १४ गते महराले सभामुखबाट राजीनामा दिएका थिए। उनलाई असोज १९ गते सभामुख निवास बालुवाटारबाट पक्राउ गरिएको थियो। महराविरुद्ध बलात्कार प्रयासमा ५ वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे २ वर्ष गरी साढे ७ वर्षसम्मको कैद सजाय माग गरिएको छ।