सभामुखमा उम्मेद्वारी दर्ता गदै महराले भने – मलाई कांग्रेसको पनि समर्थन


काठमाडौँ –  नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले कांग्रेसले सभामुखमा उम्मेद्वारी दर्ता नगराएर आफूलाई सहयोग गरेको बताएका छन् । शुक्रवार विहान प्रतिनिधि सभाको सभामुखको लागि उम्मेद्वारी दर्ता गरेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै महराले भने, ‘कांग्रेसले सभामुखमा उम्मेद्वारी नदिनु मेरो लागी सहयोग गरेको रुपमा लिएको छु ।’

त्यस्तै, महराले आफु सभामुख भएपछि पहिलो प्राथमिकता संविधान कार्यान्वयनका लागि कानुन निर्माण रहेको बताएका छन् । सभामुखमा महराको प्रस्ताबकमा देब गुरूङ र समर्थकमा सुवास नेम्वाङ रहेका छन् । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले महरालाई प्रतिनिधि सभामा सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

बामगठबन्धनमा सभामुख माओवादी केन्द्रले पाउने सहमति भए अनुसार माओवादीले महरालाई अघि सारेको हो । बामगठबन्धनबाट उम्मेद्वार बनेका महरा सभामुखमा निवार्चित हुने निश्चित छ । तर, अध्यक्ष प्रचण्डले वरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा लगायत नेतासँगको अनौैपचारिक छलफलपछि महरालाई अगाडि सारेको हो ।

महरा माओवादी शान्ति प्रक्रियामा आएपछि सबैभन्दा बढी अवसर पाउने नेताका रुपमा पर्छन । उनी २०६३ र २०६५ मा सञ्चारमन्त्री तथा २०६७ मा गृहमन्त्री, २०७० मा दोस्रो संविधानसभा सदस्य हुँदै २०७३ मा उपप्रधानमन्त्री तथा अर्थमन्त्री र २०७४ मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएको थियो । महरा २०४८ सालमा पनि तत्कालीन संयुक्त जनमोर्चाबाट प्रतिनिधिसभामा सांसद् चुनिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement