बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशबारे अर्थमन्त्रीको जवाफ- त्यस्तो कुनै पाप गरेको छैन


काठमाण्डु- बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिएका छन् ।प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित विपक्षी दलहरुको मागअनुसार अर्थमन्त्री महतले बजेट निर्माणको सन्दर्भमा संसद बैठकमा जवाफ दिएका हुन् ।

संसद्‌मा जवाफ दिने क्रममा ‘इमान्दार भएर काम गर्दा कति कठिन हुने रहेछ’ भन्दै उनले गुनासो गरे । उनले आफूले कुनै पनि प्रभावबाट मुक्त भएर, पारदर्शी ढंगबाट काम गरेको दाबी गरेका छन्।

त्यस्तै उनले बजेट निर्माणमा अनधिकृत व्यक्ति घुसाइएकोबारे कुनै पनि सत्यता नभएको बताए । अर्थमन्त्री महतले आफू त्यस्तो पाप गर्न नसक्ने र बजेट निर्माण गर्दा बिचौलियालाई छेउमा पनि आउन नदिएको बताएका छन् ।

पत्रपत्रिकाले समाचार लेखेकै आधारमा आफूमाथि आरोप लगाइएको भन्दै महतले त्यसमा सत्यता नरहेको दाबी गरे । ‘एउटा पत्रिकाले पटकपटक एउटा न्युज दोहोर्‍याउँछ । त्यसैलाई हामी सत्य मान्छौँ । कुनै प्रभावबाट मुक्त भएर पारदर्शी रूपमा काम गरेको छु,’ महतले भने ।

त्यस्तै अर्थमन्त्री महतले आर्थिक विधेयक तयार पार्न संलग्न भएका पूर्व नायव सुब्बा आफू आउनुअघि नै नियुक्त भइसकेको बताए । ‘म आउनुभन्दा अघि नै रामकृष्ण श्रेष्ठ नियुक्त भइसक्नुभएको थियो । उहाँले ३०औं वर्षदेखि यही काम गर्दै आइरहनुभएको छ । उहाँ दक्ष मानिनुहुन्छ ।’, उनले भने ।

आर्थिक वर्ष २०८०र०८१ को बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न पूर्वनायब सुब्बा श्रेष्ठलाई संलग्न भएको भन्दै विपक्षी दलहरुको विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement