काठमाण्डु- अर्थमन्त्री प्रकाशशरण महतले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताएका छन्। आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले हालसम्म एनसेलको सेयर बिक्रीका विषयमा सरकारलाई आधिकारीक जानकारी नभएको बताएका हुन् ।
‘हामी सूचना लिइरहेका छौँ। यसको नियमन गर्ने निकाय प्राधिकरण हो। यो ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ।’, उनले भने । उनले यसले पार्ने प्रभावका विषयमा टेलिकमका पदाधिकारसँग बुझ्दै गरेको जानकारी दिए। उनले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको दाबी गरे।
‘नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ। समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ। अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ। समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ। पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन्।’, उनले भने।
अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको जनाउँदै उनले ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन समय लाग्दा अर्थतन्त्रमा केही समस्या देखिएको बताएका छन् ।




प्रतिक्रिया