काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारबाट असन्तुष्ट विभिन्न पक्षसँग भेटवार्ता बढाएका बेला सभापति शेरबहादुर देउवाले प्रवक्ता प्रकाशशरण महतलाई दूत बनाएर खुमलटार पठाएका छन् ।
यसबीच प्रवक्ता महतले पटक–पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरिसकेका उच्च स्रोतले जनाएको छ ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सन्तुष्ट छैन । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पनि सत्ता गठबन्धनमा समीक्षा गर्नुपर्ने माग उठेको थियो । भूमि सम्बन्धी विधेयक, निजामती विधेयक लगायतमा एमालेको भूमिकाप्रति कांग्रेस सशंकित बनेको छ ।
संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर भएको कांग्रेस–एमाले गठबन्धनको सरकारले संशोधनको प्रक्रिया अगाडि नबढाएकोप्रति पनि असन्तुष्टि छ । यसरी कांग्रेस–एमालेबीच अविश्वास बढिरहेका बेला सभापति देउवाले विशेष दूतका रूपमा महतलाई निरन्तर प्रचण्डको सम्पर्कमा पठाएको स्रोतको दाबी छ ।
महतसँगै उपसभापति पूर्णबहादुर खड्का र बालकृष्ण खाँणले समेत नयाँ गठबन्धन निर्माणका लागि भित्रभित्रै भूमिका निर्वाह गरिरहेका स्रोतको दाबी छ ।
प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष प्रचण्डले वर्तमान सत्ता गठबन्धन भत्काएर नयाँ सरकार बनाउन भित्रभित्रै प्रयास गरिरहेका छन् । कांग्रेसको बैठकमा पनि आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने कुरा उठेको थियो ।
प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट रहेका सभापति देउवाले आफूनिकट नेताहरूलाई प्रचण्डसँग संवादका लागि पठाएका छन् । तर देउवाले प्रचण्डसँग विश्वासको वातावरण चाहेको स्रोतको दाबी छ । प्रचण्डले यसअघि धोका दिएकाले सभापति देउवाले तत्कालै पत्याइहाल्ने अवस्था नभएकाले विश्वासको वातावरण बनाउन खोजेका बताइएको छ ।




प्रतिक्रिया