काठमाण्डु – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ । संघर्षमा स्वशासनसम्मको तयारी रहेको छ ।
पार्टीको गभर्निङ काउन्सिलको जेठ १–३ गतेसम्म भएको बैठक र मधेश थरुहटका नेताहरूसँगको छलफलपछि दोस्रो चरणको आन्दोलन घोषणा गरिएको संयोजक महतोले जानकारी दिए ।
जेठ ६ गते सुरु हुने दोस्रो चरणका कार्यक्रममा ११ जेठसम्म प्रशिक्षण अन्तर्क्रिया कार्यक्रम राखिएका छन् । त्यसपछि आमसभा र प्रदर्शनीका कार्यक्रम राखिएका छन् ।
जेठ १२ गते पाँचथरको फेदेनमा आमसभा राखेको मुक्ति क्रान्तिले जेठ १६ गते सडक निर्माणमा भइरहेको ढिलाइको विरोधमा ककनीमा प्रदर्शन गर्ने घोषणा गरेको छ । जेठ १७ गते भोजपुरमा र जेठ १९ गते धरानमा आमसभा राखेको छ । महतोले जेठ २१ गते दाङको घोराही र जेठ २४ गते काठमाण्डुको इटुम्बहालमा आमसभा राखिएको छ ।
जेठ २६ गते विराटनगरमा कोशी नामकरणको विरोधमा प्रदर्शन, जेठ २९ गते ढोरपाटन शिकार आरक्षविरुद्ध प्रदर्शन, असार १ गते सर्लाहीको लालबन्दीमा मधेशी–पहाडी एकता प्रदर्शनी र असार ४ गते काठमाण्डुको माइतीघरबाट स्वशासन विधान घोषणा राखिएको संयोजक महतोले जनाएका छन् ।
मुक्ति क्रान्तिले पहिलो चरणमा काठमाण्डुमा गत फागुन १४–१५ गते अगुवा कार्यकर्ता भेला र दोस्रो चरणमा १६ गते माइतीघरको निषेधाज्ञा तोड्न माग गर्दै प्रदर्शन गरेको थियो ।




प्रतिक्रिया