काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही सरकार जोगाउन अन्तिम कसरतमा लागेका छन् ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकार धरापमा परेको छ । सरकार जोगाउनका लागि मुख्यमन्त्री शाहीलाई २० सिटको आवश्यकता पर्दछ । तर, हाल उनीसँग ११ जना मात्रै सांसद छन् ।
कर्णाली प्रदेशसभामा ४० सदस्य छन् । जसमध्ये एमाले एक्लैसंग २० जना सांसद छन् । एमालेमा सभामुख राजबहादुर शाही बाहेक १० जना ओली पक्षमा छन् भने ९ जना नेपाल पक्षमा रहेका छन् । दुवै पक्ष मिल्दा १९ जना सांसद हुन्छन् । माओवादी केन्द्रसँग ११ जना सांसद मात्रै रहेका छन् ।
नेकपा एमालेले नयाँ सरकार गठन प्रक्रिया अघि बढाएपछि मुख्यमन्त्री शाही सरकार जोगाउने कसरतमा लागेका हुन् । उनले कांग्रेसलगायतका अन्य साना दलहरुसँग छलफल जारी राखेको स्रोतले जानकारी दियो ।
मुख्यमन्त्री शाहीले प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । तर, नेकपा एमालेका सांसदहरुले उनको सरकार जोगाउने कसरत सफल नहुने दाबी गरेका छन् ।
एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले मुख्यमन्त्री शाहीले विश्वासको मत लिए पनि सफल नहुने बताए । उनले बैशाख ३ गते बोलाइएको संसद बैठकपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए ।
एमालेले मुख्यमन्त्री शाहीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताउँदै आएको छ । केही समयअगाडि बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली सरकार अपदस्त गर्ने कोशिस भइरहेकाले आफू अन्तिम सम्म पनि सफल हुन नदिने रणनीतिमा रहेको बताएका थिए ।
‘हाम्रो सरकारविरुद्ध अन्तिम रुपमा अपदस्त गर्ने कोसिस भइरहेको छ । म आफैँ लागि पनि राख्याछु, सकेसम्म हाम्रो सरकार बचोस् । हामी अहिले पनि छलफलमा छौं । यो कार्यक्रमपछि पनि हामी लाग्छौं,’ रुकुम पश्चिममा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भनेका थिए ।




प्रतिक्रिया