काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार धरापमा परेको छ । कांग्रेससँग मन्त्रालयका विषयमा कुरा नमिलेपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकार धरापमा परेको हो ।
कांग्रेसले अर्थ र सामाजिक विकास मन्त्रालयमा दाबी गरेको छ । तर, मुख्यमन्त्री शाहीले अर्थ मन्त्रालय नदिने अडान लिएपछि सहमति हुन नसक्ने अवस्था आइपरेको हो । उनले कांग्रेसलाई सरकारमा ल्याउन अन्तिम प्रयास जारी राखे पनि कांग्रेसले आफूले रोजेको मन्त्रालय नपाएसम्म सरकारमा नजाने अडान लिइरहेको छ ।
मुख्यमन्त्री शाही नेतृत्वको सरकार जोगाउनका लागि कांग्रेस निर्णायक तहमा छ । ४० सिट रहेको प्रदेशसभामा मुख्यमन्त्री शाहीलाई सरकार निर्माणका लागि १८ जना सांसदको आवश्यकता पर्दछ ।
माओवादीका १२ र कांग्रेसका ६ जना मिल्दा मुख्यमन्त्री शाही नेतृत्वको सरकार टिक्ने सम्भावना अझै बाँकी रहेको छ ।
कर्णालीमा नेकपा एमालेले माधव नेपाल समूहका चार जना सांसदलाई बर्खास्त गरेपछि प्रदेशसभा ३५ सदस्यीय बन्न पुगेको छ । त्यस्तै माओवादी केन्द्रले पनि एक जना सांसदलाई बर्खास्त गरिसकेको छ । प्रदेशसभामा एकल बहुमत रहेको एमालेले पनि बहुमत गुमाएपछि कांग्रेस निर्णायक बनेको हो ।
त्यस्तै कर्णालीमा शपथ नखाँदै तीन जना मन्त्री पदमुक्त भएका छन् । प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले मन्त्रीमा नियुक्त भएको तीन दिनसम्म पनि शपथ ग्रहण हुन नसकेको भन्दै नवनियुक्त तीन मन्त्रीलाई बर्खास्त गरेका हुन् । कांग्रेस सहमति आउन नसक्दा उनीहरुको शपथ ग्रहण रोकिँदै आइरहेको थियो ।
गत बुधबार मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा विन्दमान विष्ट र खानेपानी, सिंचाई र जलस्रोत मन्त्रीमा सिता नेपालीलाई नियुक्त गरेका थिए ।
मुख्यमन्त्री शाहीले मन्त्रालय फुटाएर मन्त्री नियुक्त गरेका थिए । शाहीले भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर सिंचाई, खानेपानी र जलस्रोत मन्त्रालय बनाएका हुन् ।
माओवादी केन्द्रका स्थायी समिति सदस्यहरु शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा दुवैको दबावमा मुख्यमन्त्री शाही छन् । उनले बुधवार गरेको मन्त्रिमण्डल विस्तारमा समेत बस्नेत र शर्मा निकट एक एक सांसदलाई मन्त्री बनाएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रीमा नेता जर्नादन शर्माका भाई गोपाल शर्मा र आन्तरिक मामिला तथा कानून मन्त्रीमा नेता वस्नेत गृहमन्त्री हुंदा उनका स्वकिय सचिव समेत रहेका सांसद विन्दमान विष्ट र खानेपानी, सिंचाई र जलस्रोत मन्त्रीमा सिता नेपालीलाई नियुक्त गरेका थिए । नेपाली यसअघि समानुपातिकबाट संघिय सांसदमा सदस्य समेत बनेकी थिईन । नेपाली पनि शर्मा निकट नै हुन् ।
जम्मा ४० सिट रहेको कर्णाली प्रदेशमा आठ वटा मन्त्री बनाइएको छ । संविधान अनुसार बढीमा २० प्रतिशत मन्त्री बनाउन पाउने प्रावधानमा टेक्दै मुख्यमन्त्री शाहीले बुधबार मन्त्रालय फुटाएर मन्त्री नियुक्त गरेका हुन ।





प्रतिक्रिया