कोरोना रिपोर्ट नदेखाए कर्णाली प्रवेशमा प्रतिबन्ध

कोरोना रिपोर्ट नदेखाए कर्णाली प्रवेशमा प्रतिबन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रवेश गर्नेको पिसिआर रिर्पोट अनिवार्य गर्ने तयारी भएको बताएका छन् । कैलाली र पूर्वी तराईमा कोरोना भाइरसको खतरनाक लक्षण देखिएको बताउँदै उनले कर्णालीमा थप सजगताका लागि अब प्रवेश गर्नेबाट पिसिआर रिर्पोट अनिवार्य माग्ने तयारी गरिने बताएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सङ्घीय सरकारले पुनः बन्दाबन्दी (लकडाउन) गरेमा मुख्य नाकामा यस्तो व्यवस्था गरिने बताए । ‘अहिले खतरनाक भाइरस आएको छ, सायद देश नै लकडाउनमा जान्छ होला’, मुख्यमन्त्रीले भने, ‘यदि नेपालगञ्ज आसपासमा उक्त भाइरस देखिएको खण्डमा हामी आफैं कर्णालीलाई लकडाउन गर्छौं, कर्णाली प्रवेश गर्नेको अनिवार्य पिसिआर रिर्पोट हेर्छौं ।’

मुख्यमन्त्री शाहीले कर्णालीका १८ लाख नागरिकलाई प्रतिव्यक्ति दुई थान मास्क दिएर भए पनि अनिवार्य मास्क लगाउन अभिप्रेरित गर्नुपर्ने बताए । ‘आफैँले किन्न नसक्ने नागरिकका लागि प्रदेश सरकारले प्रतिव्यक्ति दुई थान मास्क दिने सोचमा पुगेका छौँ, ती मास्क पुनः प्रयोग गर्न मिल्ने खालका हुनेछन्”, उनले भने, ‘यसका अलावा स–सानो स्यानेटाइजरको बोतल पनि वितरण गर्छौं ।’

मुख्यमन्त्री शाहीले कर्णालीका १० वटै जिल्लामा अक्सिजन पठाउने बताए । कर्णालीमा १०० भेन्टिलेटर राख्ने, २०० आइसियु बेड राख्ने र हरेक पालिकामा कम्तीमा ५० बेडको आइसोलेसन सेन्टर निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताए । पत्रकार भेटघाटमा सामाजिक विकासमन्त्री दल रावलले अबको केही दिनभित्रै दैनिक दुई हजार ५०० भन्दा बढीको पिसिआर परीक्षण गरिने बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल कालागाउँमा तीन वटा आरएनए एक्सटेन्सन मेशिन जडानको काम भइरहेको उनको भनाइ छ । हाल कर्णालीका चार स्थानबाट पिसिआर परीक्षण भइरहेको छ ।