काठमाण्डु – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका केन्द्रीय कमिटीका अधिकांश नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वराष्ट्रपतिकै हैसियतमा बस्नुपर्ने धारणा राखेको बताएका छन् ।
मङ्गलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बैठकमा आफ्नो धारणा राख्ने अधिकांश नेताहरूले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किनु उपयुक्त नहुने बताएको जानकारी गराए ।
उनले भने, ‘अधिकांश बोल्नुहुने केन्द्रीय कमिटीका सदस्यहरूले विधानको संशोधित प्रस्तावलाई समर्थन गर्नुभएको छ । पूर्वराष्ट्रपतिको विषयमा पनि कुरा उठेको छ । कोशी प्रदेशका कमरेडहरूले बोलिसक्नुभएको छ । अहिलेसम्म बोल्नुहुने केन्द्रीय कमिटीको सदस्यहरूले अधिकांशले पूर्वराष्ट्रपति, पूर्वराष्ट्रपतिकै हैसियतमा बस्न उपयुक्त हुन्छ । पार्टी राजनीतिमा आउने कुरा प्रणाली र व्यवस्थाको लागि स्वाभाविक नहुने कुरामा आफ्ना मत राख्नुभएको छ । यसका बारेमा पार्टीले आवश्यक निर्णय लेओस् भन्न सुझाव पनि राख्नुभएको छ ।’
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीबारे एमालेले मंगलबार निर्णय गर्ने जानकारी दिए । उनले भने, ‘बैठकको समापनमा यो विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीज्युले अन्तिम बैठकको अन्तिमता सम्बोधन गदै केही महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरेका छौं ।’




प्रतिक्रिया