काठमाण्डु – नेकपा एमालेका नेता महेश बस्नेतले गृहमन्त्री र काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् ।
बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीको आगजनीबाट क्षतिग्रस्त बालकोटस्थित निजी निवासको अवलोकन गर्न पुगेका बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याल ‘अपराधीको मतियार’ भएको दाबी गरे ।
अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले भने, ‘गुण्डुमा हामी ओलीको लागि ओली कुटी बनाइदिन्छौं । यो जलाइएको घर राज्यको सम्पत्ति थियो । यसको लुटेरालाई समात्न गृहमन्त्रीलाई भन्छु । सरकारी कार्यालयहरू रातारात रंग लगाएर टालटुल पारिरहनुभएको छ । यसको मतलब गृहमन्त्री थुनिएका मान्छेहरू छुटाउँदैछन् । गृहमन्त्री चाहिँ अपराधीहरू लुटेरा ठगहरूको प्रमाण नष्ट गर्ने अभियानमा लाग्नुभएको छ । त्यसकारण उहाँ सम्पूर्ण अपराधको मतियार हो ।’
उनले गृहमन्त्रीमाथि सिंहदरबार परिसरमा जलाइएका मोटरसाइकल र सवारीसाधनहरू संसद् भवनको पछाडि लगेर लुकाएको आरोप समेत लगाए ।
उनले भने, ‘सरकारी कार्यालयहरू रातारात रंग लगाएर टालटुल पारिरहनुभएको छ । यसको मतलब गृहमन्त्री थुनिएका मान्छेहरू छुटाउँदैछन् ।’
बस्नेतले गृहमन्त्रीमाथि अपराधीसँगको साँठगाँठ रहेको आरोप लगाउँदै भने, ‘गृहमन्त्री प्रमाण नष्ट गर्ने अभियानमा लाग्नुभएको छ । उहाँ सम्पूर्ण अपराधको मतियार हो ।’
काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन शाह र उनको टीममाथि पनि बस्नेतले गम्भीर टिप्पणी गरे । उनले भने, ‘बालेनजी, गृहमन्त्रीजी र बालेनको जुन टीम छ, त्यो गोर्खाली भाइ पारितिरकै छन् । घुसपैठ गरेर नागरिकता बनाएका विदेशी मन भएका व्यक्तिहरूको आँडमा गृहमन्त्री बनेको देखिन्छ ।’
नेता बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि विदेशी शक्ति र स्वदेशी घुसपैठियाको साथमा रही प्रमाण नष्ट गर्न सक्रिय रहेको आरोप लगाए ।
जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको छानबिनमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री र बालेन शाह सबैमा छानबिन हुनपर्ने उनले बताए । उनले गृहमन्त्रीले काम गर्न नसके घोक्रेठ्याक लगाउँदै कुर्सीबाट निकालेर आफूहरू गृहमन्त्री बनेर काम गर्ने बताए ।
‘५४ जनाको हत्या भएको कुरा सुशीला कार्की, गृहमन्त्री र बालेन शाहसम्म सबैमा छानबिन हुनपर्छ । देशव्यापी रूपमा राष्ट्रिय युवासंघ नेपाले अहिलेसम्म २७ वटा जाहेरी हालेको छ । अब छानबिन हुन्छ कि हुँदैन । संसद् पुन:स्थापनाको प्रक्रियामा हामी गइसकेका छौं । अब एउटा ठूलो आन्दोलन लोकतान्त्रिक दलहरू मिलेर गर्नेछौं । अब ओमप्रकाशजीले गर्नुभएन भने ओमप्रकाश जीलाई घोक्रेठ्याक लगाएर उहाँको ठाउँमा गएर हामी गर्नेछौं ।’




प्रतिक्रिया