महेश बस्नेतको प्रस्टोक्ति : ‘ओलीकुटी’ निर्माणमा चन्दा उठाइँदैन

महेश बस्नेतको प्रस्टोक्ति : ‘ओलीकुटी’ निर्माणमा चन्दा उठाइँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता महेश बस्नेतले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्मानमा बन्ने ‘ओलीकुटी’ निर्माणका लागि कुनै चन्दा संकलन नगर्ने स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमार्फत् उनले ओलीकुटी निर्माणबारे आएका कतिपय कुराहरू भ्रमपूर्ण रहेको उल्लेख गर्दै ओलीकुटी गुण्डु गाउँकै पहलमा बन्न लागेको बताए ।

बस्नेतले लेखेका छन्, ‘ओलीकुटी निर्माणमा चन्दा उठाइँदैन । गुण्डुबासीहरूको साझा भावना र सम्मानका प्रतीकका रूपमा गुण्डुबासीकै हातबाट, गुण्डुबासीकै मनबाट बन्ने हो ।’

उनका अनुसार ओलीकुटी निर्माण पूर्वप्रधानमन्त्री ओलीप्रतिको आत्मीयता, स्नेह र गौरवको प्रतीकका रूपमा अघि बढाइएको हो । उनले लेखेका छन्, ‘कतिपय साथीहरूले भावनात्मक हिसाबले चन्दा दिन्छु भन्नुभएको छ । कतिपय मिडियाले चन्दा उठाउँदैछन् भनेर लेखेको रहेछ । तर चन्दा उठाउने कुनै योजना छैन, कसैसँग पनि चन्दा उठाइँदैन ।’

बस्नेतले ओलीकुटी परियोजना राजनीतिक वा आर्थिक उद्देश्यका लागि नभई गाउँलेहरूको प्रेम र आदरको प्रतीकका रूपमा निर्माण भइरहेकाले यसमा अनावश्यक भ्रम नफैलाउन पनि आग्रह गरेका छन् ।

उनले ओलीकुटी निर्माणमा साथ, स्नेह र शुभेच्छा व्यक्त गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै भनेका छन्, ‘यो हाम्रो आत्मीयता, स्नेह र गौरवको प्रतीक हो ।’