एमालेले अवरोधको सामना प्रतिरोधमार्फत गर्नुपर्छ : महेश बस्नेत

एमालेले अवरोधको सामना प्रतिरोधमार्फत गर्नुपर्छ : महेश बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमालेले अवरोधको सामना प्रतिरोधमार्फत गर्नुपर्ने बताएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आरआर क्याम्पसद्वारा आयोजित अन्तरक्याम्पसस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा शुभकामना मन्तव्य राख्दै बस्नतेले एमाले आलोचना सहने भए पनि अवरोध भने नसहने बताए ।

एमाले आलोचनालाई स्वीकार गर्ने पार्टी भएको बताउँदै उनले कमजोरी भए सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । तर विना गल्ती अवरोध गरे प्रतिरोधमा उत्रिने पार्टीको सिद्धान्त रहेको उनले स्पष्ट पारे ।

‘जहाँ अवरोध, त्यहाँ प्रतिरोध भन्ने सिद्धान्तसहित हामी अगाडि बढ्छौं,’ उनले भने । 

जेनजी आन्दोलनका नाममा भदौ २३ र २४ गते भएका घटनाले ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै बस्नेतले माइतीघरदेखि एभरेष्ट होटलसम्मको जेनजी आन्दोलनप्रति एमालेले निरन्तर ध्यान दिँदै आएको र ती मागलाई जिम्मेवार रूपमा सम्बोधन गर्दै जाने बताए । तर त्यसपछिका गतिविधि आपराधिक भएको उनको धारणा छ । 

उनले आन्दोलनका नाममा ‘आतंककारी गतिविधि’ गर्नेलाई समर्थन गर्न नसकिने स्पष्ट पार्दै घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको टिप्पणी गरे । ‘निर्दोषले न्याय पाओस्, दोषी नछुटोस्, त्यसैले निष्पक्ष छानबिन होस्,’ उनले भने ।

बस्नेतका अनुसार अहिले सामाजिक सञ्जाल दुरुपयोग गरेर नेपाललाई अस्थिर बनाउन खोजिएको छ । अन्तर्राष्ट्रिय शक्तिहरूले नेपाललाई आफ्नो ‘खेल मैदान’ बनाउने प्रयास गरिरहेका उनको बुझाइ छ ।  

उनका अनुसार स्थिर र जनपक्षीय सरकार बन्न नसक्दा देशमा शिक्षा, पूर्वाधार र समग्र विकासका धेरै योजनाहरू प्रभावित बनेका छन् । उनले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्र र भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य काम भएको उल्लेख गर्दै अहिले भने ‘जलाउने र ध्वस्त पार्ने’ गतिविधि बढी भएको बताए । ‘ठूला निर्माणका काम ओलीजीको कार्यकालमै भएका थिए,’ उनले स्मरण गराउँदै भने ।