विराटनगर – नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले आईतबार सुनसरीको इटहरीमा भएको युवा संघ नेपालको प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गरेका छन् ।
कार्यक्रममा सहभागी विराटनगर विमानस्थल आइपुगेका बस्नेतमाथि २ युवाले बेलुनको लोला हान्दै दुर्व्यवहार गर्ने प्रयास गरेका थिए । त्यसपछि विराटनगर र दुहबी हुँदै इटहरी जाँदै गर्दा पनि केही युवाले बस्नेतलगायत एमाले नेताविरुद्ध नाराबाजी गरेका थिए ।
त्यस्ता घटनाका बाबजुद सभास्थल इटहरी आइपुगेका बस्नेतले सम्बोधन गर्दै एमाले नै समृद्ध नेपालको सपना पूरा गर्न सक्ने पार्टी भएको दाबी गरे । उनले विमानस्थलदेखि मार्गभर देखिएको आक्रमण प्रयास तथा विरोधप्रति आपत्ति जनाउँदै केही व्यक्तिहरू ‘जेनजी’को नाममा राज्यको कानून हातमा लिन खोजिरहेको आरोप लगाए ।
‘कानून हातमा लिने र समानान्तर राज्यको अभ्यास गर्ने कुरा कदापी स्वीकार्य हुँदैन । विराटनगरमा कांग्रेस शेखर गगन समूहको केटोले गाडीमा हान्न खोेजेछ,’ उनले भने ।
उनले हालै गठन भएको ‘नेस्नल युथ भोलेन्टियर फोर्स’लाई टोल–टोलमा विस्तार गर्दै जनताको काममा सक्रिय भूमिकासहित लाग्न युवाहरूलाई निर्देशन पनि दिएका छन् ।




प्रतिक्रिया