गम्भीर मानवअधिकार उल्लंघनका घटनामा मेलमिलाप हुँदैन, अदालतले फैसला गर्छ : महेश बर्ताैला

गम्भीर मानवअधिकार उल्लंघनका घटनामा मेलमिलाप हुँदैन, अदालतले फैसला गर्छ : महेश बर्ताैला


काठमाण्डु – नेकपा एमालेका मुख्य सचेतक महेश बर्ताैलाले सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा मेलमिलाप नहुने स्पष्ट पारेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथि छलफल गर्दै उनले गम्भीर मानवअधिकार उल्लंघनका घटनालाई कारवाहीको विषय बनाइने बताए ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गरी यसपालि आएको टीआरसी विधेयकले पीडितलाई कहीँकतै अन्देखा नगरेको उनले बताए । ‘सबै पीडितलाई न्यायको तहमा ल्याएको छ । संक्रमणकालीन न्यायको उद्देश्यलाई सम्बोधन गर्ने गरी कानून आएको छ,’ उनले भने ।

गम्भीर मानवअधिकार उल्लंघनका घटनालाई अब गठन हुने विशेष अदालतले किनारा लगाउने उनले बताए । ‘गम्भीर मानवअधिकार उल्लंघनका घटनामा पीडितले मेलमिलाप गर्न चाहे पनि हुँदैन, विशेष अदालतले किनारा गर्छ, पीडितले चाहेमा पनि मेलमिलाप हुँदैन,’ उनले भने, ‘हत्या, जबरजस्ती करणी, यातना र बेपत्तालाई गम्भीर मानवअधिकार उल्लंघनका घटना मानिएको छ ।’

गम्भीर मानव अधिकार उल्लंघन बाहेकका घटना मेलमिलापमा जान सक्ने उनले बताए ।