गगन थापालाई महेश बस्नेतको जवाफः बोकाले दाई गरिँदैन

गगन थापालाई महेश बस्नेतको जवाफः बोकाले दाई गरिँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सांसद महेश बस्नेतले नेपाली कांग्रेसका सांसद गगन थापालाई बालहठ प्रदर्शन गरेको बताएका छन् ।

बिहीबार संसद बैठकमा सांसद बस्नेतले बोकाको शैलीले दाई नगरिने भन्दै दाई गर्नका लागि गोरुकै शैली चाहिने बताए ।

‘प्रधानमन्त्रीलाई चुनौती दिएर बालहठ गर्ने कांग्रेसका साथीहरुलाई म के भन्न चाहन्छु भने यो बोकाको शैलीले दाई गरिँदैन दाई गर्नका लागि गोरुकै शैली चाहिन्छ । अहिले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेले प्रतिनिधित्व गर्छ । प्रधानमन्त्रीले ल्याएका योजनाहरुलाई सके सहयोग गरौँ नसके वस्तुनिष्ठ ढंगले विश्लेषण गरौँ’, उनले भने ।

सांस्द बस्नेतले २०७४ सालको चुनावमा एमालेलाई जनताले बहुमत दिएको र कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्र जितेर समानुपातिकबाट ६३ सिट ल्याएको बताए ।

उनले त्रेता र द्वापर युगमा समेत रावण र कंश प्रवृत्ति रहेको भन्दै अहिले प्रधानमन्त्री ओलीले त्यस्ता प्रवृत्तिलाई परास्त गर्दै राजनेताको रुपमा अघि बढेको दावी गरे । उनले रानीपोखरी बनेको कुराले भानु स्कुल बनेको कुराले एकैदिन ३ सय ९६ अस्पताल शिलान्यास भएको कुराले किन टाउको दुख्दैछ भन्दै प्रश्न गरे ।

विगतमा जाँचिएका असफल भएका नेताहरुका चेलाहरूले संसदलाई प्रभावकारी ढंगले चल्न नदिएको आरोप लगाए । उनले राजनीतिक अस्थिरता, अन्यौलता र विभाजनको स्थिति बढेको अहिलेको अवस्थामा सदन अस्वस्थ खालको बहस चलाउन थालेको दावी गर्दै प्रधानमन्त्री ओलीको जबर्जस्ती राजीनामा माग गर्दै गलहत्याउने कुरा पनि भइरहेको उल्लेख गरे ।

उनले प्रधानमन्त्री संसद बैठकमा आएका दिन बैठक बस्न आलटाल गर्ने गरेको दावी समेत गरेका छन् । १ महिनामा ६ पटक बैठक बस्दा फागुन २३ गते संसदमा प्रधानमन्त्री ओली १ घण्टा बसेर फर्किएको, दोश्रो बैठकमा ४५ मिनेट बसेर फर्किएको, तेश्रो बैठकमा ३० मिनेट बसेर फर्किएको बताउँदै जुन दिन प्रधानमन्त्री बैठकमा आए त्यो दिन सभामुख लगायत कार्यव्यवस्था परामर्श समितिको बैठकले आलटाल र ढिलासुस्ती गरेको सांसद बस्नेतको दावी छ ।

सांसद थापाले प्रधानमन्त्री ओलीलाई उद्घाटनको तमासा गरेको भन्दै कति विकास भयो छुट्टै बसेर बहस गर्न चुनौती दिएका थिए । उनले थला परेको आयोजनालाई अगाडि नबढाउने र भइसकेको आयोजना उद्घाटन गर्ने, मिथ्याङ्क ल्याएर यो भएको छ, त्यो भएको छ भन्दै २ वर्षअघि नै निर्माण सकिएको पुलको उद्घाटन गरेको बताउँदै  प्रधानमन्त्रीले डिजाइन पैसा केही नभएको सडक आयोजनामा प्रधानमन्त्रीले प्याट्ट स्विच थिचेर उद्घाटन गर्ने गरेको उल्लेख गरेका थिए ।