अग्नि सापकोटा सभामुख होइन अनुसन्धान विभाग प्रमुख हुनुपर्थ्यो : महेश बस्नेत


काठमाण्डु – नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाको आलोचना गरेका छन् । एमाले जिल्ला कमिटी अर्घाखाँचीको बृहत् कार्यक्रता भेलालाई सम्बोधन गर्दै बस्नेतले एमाले फुटाउने मतियार बनेको भन्दै सापकोटाको आलोचना गरेका हुन् ।

पूर्वमाओवादी सांसदहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहहरुको पदमुक्तिको सूचना २४ घण्टाभित्र टाँस गरेका सभामुख सापकोटाले माधव नेपालसहित १४ सांसदलाई एमालेले गरेको कारवाही पटक पटक अध्ययन गर्दैछु भनेर रोकेर भेदभाव गरेको बस्नेतको भनाइ थियो ।

‘लेखराज भट्टहरुको २४ घण्टामा सूचना निकाल्नुभयो । माधव नेपालसहित १४ जनाको आजसम्म सूचना निकाल्नुभएन । पटक पटक बुझ्दैछु । अध्यन गर्दैछु । हेर्दैछु भन्नुभयो । सबभन्दा धेरै अध्ययन, अनुसन्धान गर्ने, जाँचबुझ गर्ने मान्छे अग्नि सापकोटा देखिन्छ,’ उनले भने, ‘सभामुख होइन अनुसन्धान विभाग प्रमुख बनाउने स्वभाव देखिन्छ । सापकोटाले आफ्नो छवि ध्वस्त बनाउदैछन् ।’

बस्नेतले दौडिएर रोस्टममा पुगेका अर्थमन्त्री जनार्दन शर्माले पनि षडयन्त्र गरेको आरोप लगाए । ‘अर्थमन्त्री जनार्दन शर्माको विगत हेर्नुभयो भने सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा ब्रिफकेश खोस्ने र सदनमा नौटंकी देखाउने यिनै जनार्दन शर्मा हुन् । यिनै अहिले कुदेर गए । उनको मनको पाप, षडयन्त्रका कारणले दौडेर गरे,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement