काठमाण्डु – नेकपा एमालेका सांसद महेश बस्नेतले एमाले अर्थ विभागका सदस्य एम अधिकारीबारे खोजीनीति गर्नु आवश्यक नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बस्नेतले एम अधिकारी खाज्नु नपर्ने बताएका हुन् ।
केही साताअघि एमालेले गठन गरेको अर्थ तथा योजना विभागमा एम अधिकारी खोटाङ नामका व्यक्तिलाई सदस्य बनाएको थियो । ती एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै सामाजिक सञ्जाल र संसदमा प्रश्न उठिरहेका बेला उल्टै उनले अन्य दलका नेता, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरूलाई नामको पहिलो अंग्रेजी अक्षर र थरले सम्बोधन गर्दै कारबाही गर्नुपर्ने बताए ।
‘केही साथीहरू एम अधिकारी खोजिरहेका छन्। देशी विदेशी शक्ति गुहारेर राष्ट्रपति र प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गर्ने र परिवारवाद लाद्ने नेता एस देउवा, माओवादी नेता पि दाहाल र नेतृ ए राणा देउवालाई खोजेर कारबाही गर्नुपर्ने होइन र ?,’ उनले भने । माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा, वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडुलाई पनि कारबाही गर्नुपर्ने उनको भनाइ थियो ।
‘बजेटमा रातारात सेटिङ गरेर र कर–भन्सारका दररेट रातारात गडबड गरेर सिसिटिभीलगायतका प्रमाणहरू नष्ट गर्ने र कमिसन ६ अर्बभन्दा बढी गडबढी गर्ने माओवादी नेता जे शर्माको खोजी गरेर कारबाही गर्नुपर्ने होइन र,’ उनले भने, ‘पेट्रोलियमको भाउ, महंगी र कालोबजारीलाई प्रोत्साहन गर्ने आपूर्ति मन्त्री तथा कांग्रेस नेता डि बडुलाई कारबाही गर्नुपर्ने होइन रख । मल अभाव र पुस्तक अभाव गराई किसान र विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्ने एम यादव र डी पौडेलहरूलाई कारबाही गर्नुपर्ने होइन र ।’
सांसद बस्नेतले कायममुकायम प्रधानन्यायाधीश दीपक कार्कीलाई पनि कारबाही गर्नुपर्ने बताए । ‘प्रधानन्यायाधीशलाई महाअभियोग लगाई प्रक्रिया अवरोध गरेर कामु खाइरहेका डी कार्कीहरूलाई कारबाही गर्नुपर्ने होइन र ?,’ उनले प्रश्न गर्दै भने, ‘एमसिसी पास गर्न व्याख्यात्मक टिप्पणी गर्ने र एसपिपी सम्झौता गरेर मुलुकलाई महाशक्ति राष्ट्रको सैन्य रणनीतिको अंशियार बनाउने एस देउवा र एन खड्कालाई कारबाही गर्नुपर्ने होइन र‘’




प्रतिक्रिया