काठमाण्डु –नेकपा ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन् । उनले अबको प्रधानमन्त्री पनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै हुने दाबी गरे ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले जतिसक्दो पार्टी फुटाएर भएका सांसदहरु जोगाउनका लागि दाहाल–नेपाल समूहलाई सुझावसमेत दिएका छन् । उनले भने, ‘जतिसक्दो चाँडो पार्टी फूटाएर आफ्नो समूहमा भएका सांसदहरु जोगाउनुहोस् ।’
भोलिबाट ओलीको पक्षमा ९२ जना सांसद पुग्ने पनि ठोकुवा गर्दै उनले केही दिनभित्रै ११५ जना सांसद पुग्ने पनि दाबी गरे । नेता बस्नेतले अब नेकपा एक भएर जाने सम्भावना कम रहेको भन्दै एकताको लागि धेरै जटिलता रहेको सुनाए ।
पूर्वमन्त्रीसमेत रहेका उनले सर्वोच्च अदालतको प्रतिनिधिसभा पूनर्स्थापनाको फैसला आएपछि ढंग पुर्याईएन भने फेरि राजनीतिक अस्थिरता सुरु हुन्छ र विकृति सुरु हुन्छ भनेर गरिएको प्रक्षेपण क्रमशः पुष्टि हुँदै गएको सुनाए ।
उनले भने, ‘यो कुरा क्रमशः पुष्टि हुँदैछ । कतिपय पर्दाभित्र पनि देखिएको छ । आजको मितिमा प्रधानमन्त्री केपी शर्मा ओली संकटमा हुनुहुन्न, बरु उहाँलाई संकटमा पार्न खोज्ने प्रचण्ड र माधव नेपाल संकटमा परेका छन् ।’
बस्नेतले अहिले प्रचण्ड–नेपाल समूह ‘फ्रन्ट–गियर’ मा नभई ‘ब्याक–गियर’मा लाग्नुपर्ने अवस्थामा रहेको पनि टिप्पणी गरे । उनले प्रचण्ड–नेपाल समूह पुष ५ गते प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट समेत ब्याक भएको बताए ।
प्रधानमन्त्री ओलीले अहिले परिस्थितिको आँकलन गरिरहेकोले भोलिको दिनमा अतिरिक्त कदम चाल्नुपर्ने अवस्थापनि आउने बस्नेतको भनाई छ । उनले नेकपा अहिले विभाजन नभएको जिकिर गरे । सरकारविरुद्ध अविश्वासको प्रस्ताव नआउने भएपछि प्रधानमन्त्रीसामू कसरी नैतिकताको प्रश्न आउने भन्दै उनले उल्टै प्रश्नसमेत तेर्साए ।
नेता बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सत्ताको खेलमा नलाग्ने सुनाए । उता, जसपाका नेता राजेन्द्र महतोले दलको आधिकारिकता टुँगो लगाउन भनेकोले अहिले प्रचण्ड र माधव नेपाललाई सत्ता समकिरण ‘बोकाको मुखमा कुभिण्डो’ भएको बस्नेतको भनाई छ । उनले प्रधानमन्त्री ओलीकै नेतृत्वमा नेपालको राजनीति लामो समयसम्म चल्ने भविष्यवाणी गरे । उनले भने, ‘अहिले पनि बल केपी ओलीकै कोर्टमा छ ।’
२०५२ सालको जस्तो संसदीय विकृति र विसंगति अहिले नदोहोरिने पनि उनले स्पष्ट पारे । उनले नेकपाभन्दा बाहिर सत्ता समिकरण नपुग्ने पनि दाबी गरे । उनले भने, ‘सत्ताको खेल आज नेकपाभित्रै छ । योभन्दा बाहिर छैन् ।’
भदौ २६ गतेअघिको अवस्थामा फर्किने हो भने पार्टी एकता सम्भव छ भनेर गृहमन्त्रीसमेत रहेका ओली पक्षका सचिवालय सदस्य रामबहादुर थापाले भनेको उल्लेख गर्दै उनले यदि त्यसो हो भने एकता हुनेपनि सुनाए । तर, दाहाल–नेपाल समूहले लड्डु खाँदै २२ जना सांसद आफूहरुतिर आउने भनेर पालेको भ्रम तोडिईसकेको पनि उनको दाबी छ ।
बस्नेतले दाहाल–नेपाल समूहले सत्ता समिकरणको लागि कांग्रेसको साथ खोज्न थालेपछि नेकपाका धेरै सांसदले प्रधानमन्त्री ओलीलाई नै साथ दिने विश्वास दिलाए । उनल भने,‘दाहाल र नेपाल समूहका धेरै माननीयहरुले प्रधानमन्त्री ओलीलाई साथ दिनुहुन्छ । यसरी सम्पर्कमा आउनेहरुलाई हामीले सहजीकरण गर्छौं ।’
उनले प्रधानमन्त्री ओलीले सुरक्षा थ्रेटको महुशस गरेर नै यो कुरा बोलेको दाबी गरे । उनले भने, ‘उहाँले सूचना पाएर नै सुरक्षा थ्रेटको कुरा बोल्नुभएको हो ।’
उनले विगतमा पनि नेपालमा राष्ट्रियता, विकास र समृद्धिको अभियानमा लाग्नेहरुमाथि यस्तो भएको भन्दै भीमसेन थापा, मदन भण्डारी, वीरेन्द्र शाहको वंशनाशको प्रंसग उल्लेख गरे । त्यस्तै, बस्नेतले सुशिल कोइरालाको मृत्युपनि प्रश्नको विषय भएको सुनाए ।
यद्धपी उनले प्रधानमन्त्री ओलीलाई देशभित्रबाट वा बाहिरबाट ? कहाँबाट सुरक्षा थ्रेट छ ? भन्ने कुरामा आफू अपडेट नभएको स्पष्ट पारे । उनले प्रधानमन्त्रीमाथि सुरक्षा थ्रेट बढेको भएपनि प्रधानमन्त्रीले असुरक्षित छु भनेर नभनेको भन्दै प्रधानमन्त्रीको बचाउ गरे ।
उनले प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही पनि नभएको जिकिर गरे । उनले अब ओलीका समकालिन नेतामा अन्तिम राज ओली नै गर्ने र त्यसपछि युवाहरुले हस्तक्षेप गरेर मुलुकको नेतृत्व गर्नेपनि सुनाए । अब नयाँ पुस्ता जबरजस्त ढंगले आउने उनको विश्वास छ । उनले आफ्नो पुस्ताको नेता अबको १० देखि १५ वर्षभित्र प्रधानमन्त्री बन्ने पनि दाबी गरे ।
नेता बस्नेतले अबको केही दिनभित्रै वामदेव गौतमपनि ओली पक्षमै खुल्ने पनि खुलासा गरे । ‘वामदेव गौतम जबजको व्याख्याता र केपी ओलीले नेतृत्व गरेको नेकपाको सशक्त नेता हो, अब केही दिनभित्रै यो कुरा क्लियर हुन्छ,’ उनले भने ।
उनले आफूहरुको साईबर सेना कुनै सुरक्षा दस्ता नभएर सूचनाको सही प्रवाह गर्ने रुपचन्द्र विष्टको थाहा अभियानजस्तै भएको स्पष्ट पारे ।




प्रतिक्रिया