काठमाण्डु – बच्चालाई कम दूध चुसाउने महिलामा स्तन क्यान्सरको उच्चजोखिममा हुने गरेको पाइएको छ । प्राकृतिक चक्रविपरीत बच्चालाई कम दूध खुवाउने, महिनावारीमा गडबडी, ३० वर्षपछि सन्तान जन्माउने तथा मोटोपन भएका महिलामा स्तन क्यान्सरको जोखिम बढी हुने गरेको पाइएको हो ।
क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार अस्वस्थ तथा शहरी जीवनशैली, धुम्रपान तथा मद्यपानको सेवन स्तन क्यान्सरका प्रमुख कारण हुन् । सामान्यतया ५५ वर्षमाथिका महिलामा स्तन क्यान्सरको समस्या देखिने शाहीले जनाए । वंशाणुगत गुणका कारण ५५ वर्षभन्दा कम उमेरमा पनि क्यान्सर देखिन सक्ने उनी बताउँछन् ।
अक्टोबर महिनालाई विश्वभर नै स्तन क्यान्सर जनचेतनाको महिना मानिन्छ । यस महिनामा स्तन क्यान्सरसम्बन्धी जनचेतना फैलाउने, स्वास्थ्य शिविर गर्नेलगायतका गतिविधि हुने गर्छन् । महिलाको पाठेघरको क्यान्सर र स्तन क्यान्सर पछिल्लो समय विकराल छ । विश्वव्यापी साझा समस्याको रूपमा रहेको स्तन क्यान्सर विकासोन्मुख तथा निम्न आर्थिक अवस्था भएका मुलुकहरूमा अझ बढ्दो छ ।
डा. शाही भन्छन्, ‘स्तन क्यान्सर सुरुमा नै पहिचान गरी उपचार गर्न सके निको हुन्छ। तर, उपचार गराउन ढिला भएमा महिलाको बाँच्ने अवधि कम हुन पुग्छ ।’ विश्वमा रोगका कारण महिलाहरूको मृत्यु हुने गरेकामा स्तन क्यान्सर दोस्रो नम्बरमा पर्छ । स्तन क्यान्सरबाट बर्सेनि विश्वभर छ लाख २७ हजार महिलाले ज्यान गुमाउने गरेका छन् । नेपालमा प्रत्येक दिन पाँच जना महिलाको स्तन क्यान्सरका कारण मृत्यु हुने गरेको छ ।




प्रतिक्रिया