काठमाण्डु- प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै महोत्तरी–२ मा पनि चुनावी चहलपहल सुरु भएको छ ।
यो क्षेत्रमा पटकपटक सत्ता र संसद्को यात्रा गरिसकेका शरतसिंह भण्डारी पुनः चुनावी मैदानमा छन् । यसपटक उनको प्रतिस्पर्धा केही पुरानै अनुहार र नयाँ उम्मेदवारहरूबीच हुँदैछ ।
तर भण्डारीले यस क्षेत्रमा उल्लेखनीय काम नगरेको मतदाताको गुनासो छ । अहिले मत माग्न आइरहेका उम्मेदवार र दलका नेता कार्यकर्तालाई यहाँका मतदाताले गुनासो नै गुनासो पोखिरहेका छन् ।
‘हाम्रो बस्ती नदीका कारण समस्यामा छ, बर्खामा नदीमा आउने बाढीका कारण बस्ती र खेत जोखिममा पर्दै आएको छ’, भङ्गाहा–६ हतिसर्वा मजराका ५५ वर्षीय सुरेश सर्दारले भने । नदी नियन्त्रणका लागि पक्की तटबन्ध र कुलोनहरका बाँध नबन्दा बर्सेनि आफूहरुले दुःख पाइरहेको उनको भनाइ छ । विगतमा ठाउँठाउँमा कटान र डुबान रोक्न तटबन्ध निर्माण गरिए पनि त्यसले समस्या समाधान भएको छैन ।
यहाँका नागरिकहरुले चुनावमा भोट माग्न आउने उम्मेदवासमक्ष यस्तै गुनासा गर्न थालेका छन् । यस क्षेत्र भएर बग्ने रातु नदीको ताण्डवले जिल्लाका सात स्थानीय तहका बासिन्दा प्रभावित छन् । यसको दीर्घकालीन समाधान नपहिल्याइँदा समस्या जस्ताको त्यस्तै छ ।
निर्वाचनमा उम्मेदवार र दलका कार्यकर्ताको आउजाउ बढेपछि चुनावी सरगर्मी बढेको छ । जिल्लाको पूर्वी मध्यभेगको यो क्षेत्रमा बिग्ही, रातु, मरहा र ओक्सीसहितका नदीपिडित समूहल मुख्य समस्या नै बर्खामा कटान र डुवान एबं हिउँदमा पानीको अभाव सुनाउँछन् ।
भण्डारी यस क्षेत्रबाट पटक पटक जितेर १९ पटक मन्त्री भइसकेका छन् । तर पटकपटक मन्त्री र सांसद् भएपनि यस क्षेत्रका लागि उनले काम नगरेको आम जनताको गुनासो छ ।
जिल्लाको मध्यभेगको भङ्गाहा नगरपालिका–१, २, ६, ७ र ८, बलवा नगरपालिकाका–११, मध्यपूर्वी भेगको लोहारपट्टी नगरपालिकाका–९, महोत्तरी गाउँपालिका–६, औरही नगरपालिका–७, ८ र ९, पिपरा–६ र एकडारा गाउँपालिका–६ वडा महोत्तरी–२ मा पर्छन् । यहाँका बासिन्दाको मुख्य पेसा खेती भएर पनि सिँचाइको समुचित प्रबन्ध नहुँदा आकासे पानीको भरको खेती र बर्खामा बाढीले घरबस्ती डुबाउने÷बगाउने त्रासको नियति यहाँका बासिन्दाले खेप्दै आएका छन् ।
यो क्षेत्र बर्खाकालमा बाढी कटान÷डुवान र हिउँदमा पानीको हाहाकारमा पर्ने गरेको छ । हिउँद अन्त्यतिर त सिँचाइका लागि मात्र नभएर कुनैकुनै वर्ष खानेपानीकै पनि हाहाकार पर्ने गरेको यहाँका बासिन्दा बताउँछन् ।
यो समस्या भोग्दै आएका यहाँका बासिन्दा सरकारले खेतीपातीका लागि सिँचाइ सुविधा, समयमा बीउविजन, मलखाद र सुलभ कृषि ऋणको व्यवस्थासँगै बाढीबाट जोगाउन पक्की बाँध (तटबन्ध) को प्रबन्ध गरी देओस् भन्ने चाहना भएको लोहारपट्टी–१ का रामसागर यादवको भनाइ छ ।
आसन्न निर्वाचनका लागि यहाँ १५ राजनीतिक दलका र स्वतन्त्र २२ गरी जम्मा ३७ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।
यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले किरण यादव र नेकपा एमालेले कासिम नदाफलाई अघि सारेका छन् । यादव र नदाफ दुवै भण्डारीका पुराना प्रतिस्पर्धी हुन् ।
महोत्तरी–२ मा जसपा नेपाल, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा नेपाल, नेपाल मजदुर किसान पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, उज्यालो नेपाल पार्टी, नेकपा (एमाले), नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी, जनादेश पार्टी नेपाल, राष्ट्र निर्माण दल, जनमत पार्टी, श्रम संस्कृति पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन र नेकपा संयुक्तका उमेद्वार दलगत प्रतिष्पर्धा गर्दै छन् । यी दलका २२ जना स्वतन्त्र उम्मेदवार पनि प्रतिष्पर्धामा छन् ।
यस क्षेत्रमा एक लाख सात हजार ५९४ मतदाता छन् । साथै ६२ मतदानस्थलमा १३३ मतदानकेन्द्रको व्यवस्था गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले बताए । निर्वाचन अभियान अघि बढेसँगै यसलाई स्वच्छ र भयरहित सम्पन्न गर्न सुरक्षा व्यवस्था सुदृढ गरिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको भनाइ छ ।




प्रतिक्रिया