काठमाण्डु – मधेस प्रदेशमा पर्ने महोत्तरी जिल्ला उत्तरमा महाभारत पहाड र दक्षिणमा भारतको बिहारसम्म फैलिएको छ । यो जिल्लामा १० वटा नगरपालिकासहित १५ वटा स्थानीय तह छन् ।
महोत्तरीमा मुख्यतः कांग्रेस, माओवादी र मधेसकेन्द्रित दलबीच प्रतिस्पर्धा देखिन्छ । जिल्लामा एमाले कमजोर छ । माओवादीका नेता गिरिराजमणि पोखरेल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता शरत्सिंह भण्डारीको गृहजिल्ला महोत्तरीमा चुनावी रौनक उत्कर्षमा छ ।
०७४ सालको स्थानीय चुनावमा महोत्तरीमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)ले सबैभन्दा धेरै पालिकामा जितेको थियो । उसले १५ मध्ये सात तह जित्यो भने दोस्रो माओवादीले चार पालिकामा सफलता पायो । यस्तै, कांग्रेसले तीन तथा संघीय समाजवादी फोरमले एक पालिका जिते । जिल्लामा एमालेले भने कुनै पनि पालिकामा जित निकाल्न सकेन ।
राजपाले सदरमुकामसमेत रहेको जलेश्वरसहित भँगाहा, मटिहानी र मनरा–सिसवा नगरपालिकामा मेयर–उपमेयर तथा पिपरा, महोत्तरी र एकडारा गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष जितेको थियो । माओवादीले गौशाला, रामगोपालपुर र बर्दिबास नगरपालिकामा मेयर–उपमेयर तथा साम्सी गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष जित्यो ।
कांग्रेसले लोहरपट्टी नगरपालिकामा मेयर–उपमेयर तथा बलवा र औरही नगरपालिकामा मेयर तथा संघीय समाजवादी फोरमले सोनमा गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष जितेको थियो । पहिले धेरै पालिका जितेको राजपा अहिले लोसपा भएको छ । तर, उसको अवस्था अहिले पहिलेको जस्तो छैन ।
जसपाबाट विभाजित भएर बनेको लोसपामा पहिले राजपामा रहेका सबै नेता–कार्यकर्ता सामेल भएका छैनन् । पहिले राजपाले जितेको सदरमुकाम जलेश्वरमा यसपटक जसपा बलियो देखिन्छ । लोसपाले पहिले राजपाबाट जितेका वा उम्मेदवार भएर पराजित भएका अनुहार नै यसपटक पनि अघि सारेको छ । गौशालामा माओवादीको कांग्रेस र जसपासँग प्रतिस्पर्धा छ ।
पिपरामा लोसपाको एमाले र माओवादी तथा महोत्तरी गाउँपालिकामा जसपासँग प्रतिस्पर्धा देखिन्छ । साम्सीमा माओवादी र सोनमामा जसपा अगाडि देखिन्छन् । औरही नगरमा कांग्रेस र लोसपा तथा एकडारामा लोसपा र जसपाबीच प्रतिस्पर्धा छ ।
बर्दिबास नगरपालिकामा माओवादी र कांग्रेस तथा बलवामा कांग्रेस, लोसपा, जसपा र माओवादीका बीचमा बहुपक्षीय लडाइँ छ । भँगाहा नगरपालिकामा लोसपा, कांग्रेस र माओवादीका बीचमा त्रिपक्षीय प्रतिस्पर्धा छ । मटिहानीमा लोसपा बलियो छ । मनरा–सिसवामा उसको जसपासँग भिडन्त हुँदै छ ।
रामगोपालपुरमा माओवादीलाई कांग्रेस र एमालेको चुनौती छ । लोहरपट्टीमा भने कांग्रेस बलियो छ । समग्रमा जिल्लामा अहिले पनि लोसपा, कांग्रेस, माओवादी र जसपा मुख्य प्रतिस्पर्धी हुन् । एमाले दुई पालिकामा मात्रै प्रतिस्पर्धामा जान सक्छ । लोसपाले पहिले राजपाले जितेका पालिका बचाउने सम्भावना कम छ । त्यसैले अन्य दल फाइदामा जान सक्छन् ।
एमालेलाई यसपटक पनि खाता खोल्न मुस्किल छ । जिल्लामा आगामी स्थानीय चुनावका लागि ३ लाख ९१ हजार ५ सय ७७ मतदाता छन् । तीमध्ये २ लाख १२ हजार २ सय ३ पुरुष र १ लाख ७९ हजार ३ सय ७३ महिला छन् ।




















प्रतिक्रिया