काठमाण्डु – मैलुङ खोला जलविद्युत कम्पनीले आईपीओ बाँडफाँट गरेको छ । कुल २० लाख ६७ हजार ९६७ आवेदन परेकाे मैलुङ खोलाको आईपीओ मंगलबार बाँडफाँट भएको हाे ।
६८ हजार ४७४ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ । जसमध्ये ६ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता सेयर हात पारेका छन् ।
दुई हजार ८४३ जनाको आवेदन रद्द भएको थियो भने बाँकी २० लाख ६५ हजार १२४ जनाको आवेदन स्वीकृत भएको थियाे । कम्पनीले यही साउन १४ देखि १८ गतेसम्मम प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सात लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासन गरेको थियो ।
त्यसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्ट्याएर बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।
हाल २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ बिक्रीपश्चात् चुक्ता पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ ।




प्रतिक्रिया