मुख्य ५ दलद्वारा उद्धार, राहत र अस्थायी पुनर्स्थापनामा खटिन कार्यकर्तालाई निर्देशन

मुख्य ५ दलद्वारा उद्धार, राहत र अस्थायी पुनर्स्थापनामा खटिन कार्यकर्तालाई निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तीन दिनको अविरल वर्षापछि आएको बाढी र पहिरोबाट पीडितहरूको उद्धार, राहत र अस्थायी पुनर्स्थापनामा खटिन मुख्य ५ राजनीतिक दलहरूले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, दोस्रो ठूलो दल नेकपा एमाले, तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र), चौँथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले अविरल वर्षापछि उत्पन्न संकटको सामना गरिरहेकाहरूलाई उद्धार, राहत वितरण र अस्थायी पुनस्थापनामा खटिन पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।

कांग्रेसको सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पीडितहरुको उद्धार कार्यमा कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

कोजाग्रत पूर्णिमासम्मको पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर कांग्रेसले उद्धार, राहत वितरण र पुनस्थापनामा खटिन कार्यकर्तालाई निर्देशन दिएको हो । कांग्रेसले पीडितहरुको उद्धार कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

सत्ताको नेतृत्वकर्ता एमालेको आइतबार बिहान बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागको संयुक्त बैठकले पीडितहरुको उद्धार कार्यमा सम्पूर्ण पार्टी कमिटीहरु परिचालन गर्ने निर्णय गरेको विभाग प्रमुख खिमलाल भट्टराईले जानकारी दिए । एमालेले उद्धार प्रभावित जिल्लाहररूमा आगामी १६ असोजसम्म शुभकामना आदानप्रादनलगायतका पार्टी कार्यक्रम स्थगित गर्ने निर्णय गरेको भट्टराईले जानकारी दिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार नै बक्तव्य जारी गरेर पीडितहरुको उद्धार कार्यमा खटिन कार्यकर्ताहरुलाई निर्देशन दिइसकेका छन् । ‘राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन, सञ्चार क्षेत लगायत सबैमा जनताको दुखमा हातेमालो गर्न हार्दिक अपिल गर्दै हाम्रो पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई कठिन समयमा जनसेवामा जुट्न निर्देशित गर्दछु’, प्रचण्डको वक्तव्यमा उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जाल मार्फत् नागरिकको जिउधनको सुरक्षामा खटिन आह्वान गरिसकेका छन् । ‘देशै भरिका प्रभावित क्षेत्रहरुमा स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यक सहयोग र सेवामा जुट्न र खटिन रास्वपाका सबै तहका जिम्मेवार सदस्यहरुलाई अपिल समेत गदर्छु’, लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्यक्ष राजेन्द्र लिङदेनले बक्तव्य जारी गरेर शनिबारै उद्धार कार्यमा नेता तथा कार्यकर्ताहरुलाई परिचालित हुन निर्देशन दिएका थिए ।

‘विपदसँग जुधिरहेको आम नागरिकको साथमा उभिन, राहत, उद्धार र पुनस्र्थापनामा जुट्न देशभरका हाम्रो पार्टीका सदस्यहरुसँग हार्दिक आह्वान गर्दछु’ लिङदेनको वक्तव्यमा उल्लेख छ ।