काठमाण्डु – श्रम संस्कृति पार्टीले सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को बोलीविरुद्ध शनिबार काठमाण्डुमा प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री बालेनले दिएको ‘नेपालले भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको भन्दै श्रम संस्कृति पार्टीले माइतीघर मण्डलामा शनिबार खबरदारी सभासहित विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरे । उनले प्रधानमन्त्रीको भनाइका विषयमा अन्य राजनीतिक दलहरूको धारणा पनि सार्वजनिक हुनुपर्ने बताए ।
महासचिव राईले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिबारे हालसम्म स्पष्ट धारणा सार्वजनिक नगरेको भन्दै प्रश्न उठाए । उनले प्रधानमन्त्रीको भनाइपछि त्यसलाई स्पष्ट पार्ने प्रयास स्वरूप परराष्ट्र मन्त्रालय र सरकारका प्रवक्ताले दिएको प्रतिक्रिया पनि पर्याप्त नभएको बताएका छन् ।
उनले भने, ‘यस्तो राष्ट्रघाती अभिव्यक्ति सरकार प्रमुखले दिइराख्दाखेरी आजसम्म ठूलो पार्टी, जनताले मत दिएर पठाएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेसम्म चुइक्क बोलेको छैन । प्रधानमन्त्रीले बोलेको अभिव्यक्तिविरुद्ध रास्वपाको धारणा के हो यो सोध्न चाहन्छु । प्रधानमन्त्रीज्यू आफ्नो अभिव्यक्तिपछि नांगिनुभएको छ । उहाँले अतिक्रमण भन्न मिल्छ तरु प्रधानमन्त्रीज्यूले यसो भन्न खोज्नुभएको हो भनेर परराष्ट्र मन्त्रालयले ढाकछोप गर्नखोज्यो । सरकारका प्रवक्ताले पनि त्यही ढङ्गले बोल्नुभयो । एउटा गल्ती ढाकछोप गर्न अर्को गल्ती गर्नु हुन्न । त्यो लाजमर्दो कुरा नाङ्गिने कुरा सरकारले गर्नु हुँदैन । त्यो कारणले गर्दाखेरी अब सडकमा आउन बाध्य भएको हो ।’
एउटा गल्तीलाई ढाकछोप गर्न अर्को गल्ती गर्न नहुने उल्लेख गर्दै उनले सरकारले यस विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने बताए ।
प्रदर्शनमा सहभागीहरूले नेपाली माटोको रक्षा गरौँ, राष्ट्रको सम्मान जोगाऔँ, गैरजिम्मेवार अभिव्यक्तिको विरोध गरौँ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।




प्रतिक्रिया