काठमाडौं – सरकारले ललितपुर र भक्तपुरमा पनि विरोध प्रदर्शन गर्न पाइने स्थान तोकेको छ । तोकिएको ठाउँबाहेक अन्य ठाउँमा प्रदर्शन तथा सभा गरेमा कानूनी कारवाही गर्ने सरकारले चेतावनी दिएको छ।
गृह मन्त्रालयमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा बादलले तोकिएको ठाउँमा मात्र प्रदर्शन गर्न दिइने बताए। तोकिएको ठाउँबाहेक अन्य ठाउँमा प्रदर्शन तथा सभा गर्न नपाइने गरी ललितपुरमा ५ ठाउँ र भक्तपुरमा एक ठाउँमात्रै तोकिएको हो ।
ललिपुरमा च्यासलको खेलमैदान, गोदावरी बसपार्क नजिकको खाली ठाउँ, भैंसेपाटीको छ्यासीकोटको खाली ठाउँ, बज्रबाराही, लुभुको ससमुचौर, धोविघाट नजिकैको मलपोखरीको खुला ठाउँलाई प्रदर्शन र सभास्थल तोकिएको छ ।त्यसैगरी भक्तपुरमा प्रदर्शन र सभाका लागि सल्लाघारीको नेपाल ट्रष्टको खाली जग्गा तोकिएको छ ।
साउन १ देखि यो निर्णय कार्यान्वयन हुने र तोकिएको ठाउँबाहेक अन्य ठाउँमा प्रदर्शन र सभा गर्न नपाइने गृह मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी जनाएको छ ।यसअघि काठमाडौं जिल्लामा यस्ता ७ ठाउँ तोकिएको थियो । काठमाडौंका प्रदर्शन र सभाका लागि खुलामञ्च, तीनकुनेको खाली जग्गा, स्वयम्भू, पेस्पीकोलाको खेलमैदान, लैनचौर खेलमैदान, गौशाला सिफलचौर तोकिएको छ । यसअघि प्रदर्शनस्थलको रुपमा परिचित माइतीघर मण्डलामा भने प्रदर्शन गर्न नपाइने भनी जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरेको थियो ।




प्रतिक्रिया