काठमाण्डु – मकवानपुर–१को बकैया गाउँपालिका वडा नम्बर–४ जुरेली (माझी गाउँ) का सम्पूर्ण स्थानीय एकैसाथ नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
त्यहाँबाट नेकपाका बवजय गौतम उम्मेदवार छन् ।
पूरै माझी गाउँ नै संगठित रूपमा नेकपामा प्रवेश गर्दै आफ्नै गाउँका युवा उम्मेदवार गौतमलाई जिताउने सामूहिक प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
गाउँ नै एकैसाथ पार्टीमा प्रवेश गरेपछि यस घटनालाई जिल्लाकै ठूलो राजनीतिक झट्काको रूपमा हेरिएको छ ।
स्थानीय राजनीतिक वृत्तमा यस प्रवेशले उम्मेदवार गौतमको जिततर्फको यात्रालाई थप बलियो बनाएको चर्चा छ ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै गौतमले भावुक तर दृढ स्वरमा आफू पहिलोपटक चुनावी मैदानमा आएको र राम्रो काम गर्ने प्रतिबद्धताका साथ अघि बढेको बताए ।
‘म पहिलोपटक आएको हुँ, राम्रो गर्न आएको हुँ । तपाईंहरूले दिनुभएको भरोसा मन, वचन र कर्मले टुट्न दिने छैन । जति काम गर्छु, शिर उचो हुने गरी गर्छु । तपाईंहरूबाट टाढाको होइन, फोन गर्दा भेटिने, ढोका ढकढक गर्दा निस्किने प्रतिनिधि बनेर काम गर्छु,’ उनले भने ।
गौतमले शिक्षा, रोजगारी, ढल–शौचालय, खेलमैदान, बाढी–पहिरो नियन्त्रणलगायत स्थानीय आवश्यकतालाई केन्द्रसम्म पुर्याउने भरिया बनेर काम गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा स्वतन्त्र समूहबाट समेत करिब सयको संख्यामा नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका जनाइएको छ । यस घटनापछि मकवानपुर–१ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने विश्लेषण गरिएको छ ।




प्रतिक्रिया