मझौला व्यवसाय आर्थिक विकासको आधार : अध्यक्ष प्रचण्ड


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष  एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले साना तथा मझौला उद्योगको व्यवसाय विस्तार गर्न सके ठूला उद्योगको विकासमा सहयोग पुग्ने बताएका छन् ।

साना तथा मझौला व्यवसायी महासंघ नेपालको १५औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले साना तथा मझौला व्यवसाय आर्थिक विकासको आधार भएकाले यसलाई व्यवस्थित गर्दै लैजानुपर्ने भनाइ व्यक्त गरे ।

उनले अहिले देशमा दुईतिहाइ बहुमतको स्थिर सरकार भएकाले देशको आर्थिक विकास अभियानमा सबै मिलेर लाग्नुपर्ने भनाइ व्यक्त गर्दै छिमेकी राष्ट्र भारत र चीनसँगको सम्बन्ध राम्रो भएकाले दुवै देश आर्थिक विकासबाट लाभान्वित हुने बताए ।

लामो समयको प्रयासपछि देशमा आर्थिक विकासको निम्ति राजनीतिक वातावरण तयार भएको भन्दै अध्यक्ष दाहालले सबै राजनीतिक दलले एकअर्कालाई सहयोग गरेर देशको समृद्वितर्फ एकजुट भएर लाग्नुपर्ने बताए । उनले कृषि क्षेत्र, पर्यटन क्षेत्र, व्यवसायका अन्य विभिन्न उद्योग र रोजगारीको सृष्टिको विविध सम्भावनालाई सदुपयोग गरेर स्वदेशमा रोजगारीको वातावरण सिर्जना गर्नसके विदेशिएका कैयौँ युवा स्वदेश फर्किने धारणासमेत व्यक्त गरे ।

कार्यक्रममा महासंघका अध्यक्ष बाबुकाजी महर्जनले समृद्व नेपाल निर्माणका लागि महासंघले ‘एक घर एक व्यवसाय’ भन्ने नारा ल्याएको भन्दै यसलाई व्यवस्थित गर्न महासंघ लागिपरेको बताए । कार्यक्रममा अध्यक्ष दाहालले महासंघद्वारा प्रकाशित ‘एसएमई फोकस’ नामक पुस्तकको विमोचन गरे । पुस्तकमा उद्योगसम्बन्धी विभिन्न अनुसन्धानत्मक लेख, महिलालाई कसरी उद्यमी बनाउने, पर्यटन व्यवसायको महत्वलगायतको लेख समावेश छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement