काठमाण्डु – भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन राजनीतिक दलहरूको असफलताका कारण नै भएकोमा कसैको दुई मत छैन ।
भ्रष्टाचार, कुशासन, आर्थिक वृद्धि, रोजगारीको अभाव जस्ता विविध कारणले जनता आक्रोशित भएपछि जेन जीको नाममा आन्दोलन भएको हो ।
यो आन्दोलनमा व्यक्त जनताको आक्रोश ठूला दलहरूप्रति थियो, जो जसको शासन सत्तामा हालीमुहाली थियो ।
जेन जी आन्दोलनपछि ठूला राजनीतिक दलहरूमा व्यापक सुधार र पुनर्संरचनाको माग बढिरहेको भए पनि तीन प्रमुख दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)मा आधारभूत परिवर्तनको लक्षण देखिएको छैन । यी दलहरू जनताको माग र भावना अनुसार आफूलाई परिवर्तन गर्न अनिच्छुक देखिएका छन् ।
यी दलहरू न त आफ्ना वर्तमान नेताहरूलाई पदमुक्त गर्न तयार छन्, जुन जेन जी आन्दोलनको प्रमुख माग थियो, न त देशव्यापी भ्रष्टाचार अन्त्य गर्ने दिशामा ठूला कदम चालेको देखिन्छ ।
२०४६ र २०६२/६३को परिवर्तनपछि कांग्रेस, एमाले र माओवादी केन्द्र पालैपालो सरकारमा पुगे पनि खास परिणाम देखाउन सकेनन् । यसले जनतामा असन्तोष बढाएको छ ।
संविधान दिवसको अवसरमा शुक्रबार नेपाली कांग्रेसले बैठक गरेको थियो । तर त्यसमा पार्टीको कार्यशैलीमा आमूल परिवर्तन गर्ने कुनै संकेत देखिएन । जेन जी आन्दोलनको भावनालाई सम्मान गर्ने त झन् छलफल नै भएन ।
बैठकमा महामन्त्री गगन थापाले पार्टीको नियमित वा विशेष महाधिवेशन बोलाउने प्रस्ताव गरे । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा, वरिष्ठ नेता शेखर कोइराला र विमलेन्द्र निधि लगायतले समर्थन गरे ।
थापाले पार्टीको रुपान्तरण अपरिहार्य भएको उल्लेख गर्दै आत्ममूल्यांकन, आत्मचिन्तन र अतीतका कमजोरीलाई स्वीकार गर्दै पार्टीलाई संरचनागत रूपमा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
तर थापाको प्रस्तावलाई सभापति शेरबहादुर देउवा निकट केही नेताहरूले अस्वीकार गरिदिए ।
बैठकमा जेन जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको छानबिन गर्नुपर्ने माग गरियो । तर नेतृत्व परिवर्तन वा विशेष महाधिवेशनबारे कुनै निर्णय भएन ।
‘जेन जी आन्दोलनपछि शुक्रबारको भएको पहिलो छलफलले हामी कुनै परिवर्तन गर्न तयार छैनौं भन्ने देखियो,’एक केन्द्रीय समितिका नेताले भने ।
एमालेमा पनि उस्तै अवस्था
जेन जी आन्दोलनको क्रममा प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शनकारी घुसेपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको शिवपुरी ब्यारेकमा आश्रय लिए ।
भदौ २३ गते प्रहरी गोलीकाण्डमा १९ जनाको मृत्यु भएपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए । दुई दिनको घटनामा मृतकको संख्या ७४ पुगेको छ ।
ओलीले संविधान दिवसको दिन शुक्रबार विज्ञप्ति जारी गर्दै ‘प्रदर्शनकारीलाई टाउको र छातीमा गोली हान्ने आदेश आफूले नदिएको’ र ‘गोली नेपाल प्रहरीले नचलाएको’ दाबी गरे । उनले प्रदर्शनमा ठूलो घुसपैठ भएको पनि बताए । ओलीको बोलीमा एमालेका अन्य नेताहरूले पनि सहमति जनाएका छन् ।
एमाले आन्दोलनबाट आफू चोखिने दाउमा छन् । तर जेन जी आन्दोलन किन भयो र पार्टी तथा नेताहरूले कसरी सुध्रिनु पर्छ भन्ने विषयमा छलफल गनुपर्ने आवश्यक्ता बोध गरेका छैनन् ।
एमालेभित्र ओलीको विकल्प खोज्ने सम्भावना कम देखिन्छ । आन्दोलनकारी युवाहरू भने ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र निर्दोष विद्यार्थी तथा नागरिकको हत्या गर्नेहरूलाई पक्राउ गर्न माग गरिरहेका छन् ।
उपमहासचिव प्रदीप ज्ञवालीले नुवाकोटमा आयोजित कार्यक्रममा एमाले नेतृत्वमाथि भइरहेको आक्रमण रोक्नुपर्ने भन्दै ओलीको बचाउ गरेका थिए ।
एमालेमा ओली समूहभित्र कसरी शक्तिमा रहनेमै ध्यान केन्द्रित अहिले पनि छ ।
माओवादी केन्द्रभित्र पनि दबाब
जेन जी आन्दोलनपछि माओवादी केन्द्रभित्र जेन जी आन्दोलनको विषयमा छलफल गर्नु पर्नेमा नेतृत्वकालागि होडबाजी सुरु भएको छ । नेताहरू यस्तो विषम परिस्थितिको समीक्षा गर्न सकेका छैन् । तर आन्दोलनभित्र षडयन्त्र भने देख्न थालेका छन् ।
पार्टीको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने आवाज बढ्दै गएको छ । उपमहासचिव जनार्दन शर्मा यस अभियानमा अगाडि छन् तर अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व छोड्न तयार छैनन् ।
संविधान दिवसको भाषणमा अध्यक्ष दाहालले भनेका थिए, “प्रक्रियामार्फत् नेतृत्व हस्तान्तरण गर्ने सोचमा छु । स्थायी समिति बैठकमा म पहिले नै यो कुरा राखिसकेको छु ।’
उनले पार्टीको गौरव, एकता र केन्द्रीयकरणलाई नघटाई नेतृत्व हस्तान्तरणबारे छलफल गर्नुपर्ने बताए ।
रास्वपामा पनि असन्तोष
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पनि असन्तोष बढ्दै गएको छ । नेतृ सुमना श्रेष्ठले राजीनामा दिएपछि अर्की महिला नेतृ तथा पूर्वसांसद तोसिमा कार्कीले पार्टीको कार्यशैलीमा आमूल सुधारको माग उठाएकी छन् ।




प्रतिक्रिया