प्रधानसेनापतिविरुद्ध उजुरी दिने उपरथी कार्की बिदामा बसे, अधिकारी उपरथी बन्ने लाइनमा

प्रधानसेनापतिविरुद्ध उजुरी दिने उपरथी कार्की बिदामा बसे, अधिकारी उपरथी बन्ने लाइनमा


काठमाण्डु– नेपाली सेनाका उपरथी अनन्त कार्की घरबिदामा बसेका छन् । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा कार्यरत रहेका कार्कीले आईतबार आफ्नो जिम्मेबारी उपरथी भोला थापालाई बुझाएर बिदामा बसेका हुन ।

उपरथीमा पदावधि थप नभएपछि उनी माघ २३ गते अनिवार्य अवकासमा जांदैछन् । सेनामा १५ दिनअघि बिदामा बस्ने प्रचलन छ । उनको पदावधि थप भएको भए तीन तारे जर्नेल हुने सम्भावना थियो ।

कार्कीले प्रधानसेनापति प्रभुराम शर्मालाई आफु उपर पूर्वाग्रह र बदनियत राखी स्वच्छाचारी मनोमानी ढंगले अवधि थप नगरेको आरोप लगाउँदै राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीदेखि दुबै सदनका अध्यक्ष समेतलाई गुहारेका थिए । प्रधानसेनापति शर्माले उनको सिफारीस नगरेपछि सरकारले अन्ततः सिताराम खड्का र ताराध्वज पाण्डेको मात्र पदावधि थप गरेको थियो ।

सैनिक ऐनमा सैनिक अधिकृतहरुको पदावधि थप गर्ने वा नगर्ने अधिकार प्रधासेनापतिमा निहित छ । कार्कीले पदावधि थप नभएको भन्दै राजनीतिक नेतृत्वकोमा लविङ्ग गरेपछि उनलाई कार्वाही गर्नुपर्ने आवाज सेनामा उठेको थियो ।

कार्कीले यसअघिका प्रधासेनापति पूर्णचन्द्र थापाको पालामा व्यक्तिगत पुर्वाग्रह सांधेर धेरै सैनिक अधिकृतहरुमाथी कार्वाही गर्न भुमिका खेलेको,आर्थिक लाभ लिएको र गुटबन्दी गरेको आरोप छ ।

कार्कीले सैनिक अनुशासन तोडेको भन्दै कार्वाही गर्न सेनाका उच्च अधिकारी र अवकासप्राप्त सैनिक अधिकारीहरुले प्रधानसेनापति शर्मालाई सुझाव दिएपनि उनले कार्कीकोे पदावधि थप नहुनु नै कार्वाही सरह भएको भन्दै उनीमाथी कुनै एक्सन गरेनन । कार्कीले पुर्व प्रधानसेनापति थापाको निकट बसेर सेनामा सत्ता चलाएको आरोप छ ।

कार्कीको अवकासपछि सहायकरथी प्रेमध्वज अधिकारी दुई तारे जर्नेलमा बढुवा हुने लाइनमा छन् । उनको अव उपरथीमा पदावधि थप समेत गर्न नपर्ने भएको छ ।