काठमाण्डु – निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यका साथ मकवानपुरका दुईवटै निर्वाचन क्षेत्र अन्तर्गतका नौ वटा स्थानीय तहका मतदान स्थलहरूको स्थलगत अनुगमन गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसहितको संयुक्त टोलीले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी, बागमती, भीमफेदी, राक्सिराङ, कैलाश, मनहरी र बकैया गाउँपालिकाका मतदान स्थलहरूको निरीक्षण गरिसकेको जनाएको छ ।
अनुगमनका क्रममा मतदान स्थलको भौतिक अवस्था, सुरक्षा व्यवस्थापन, पहुँच मार्ग, मतदान कक्षको व्यवस्थापन, सञ्चार सम्पर्क तथा सम्भावित चुनौतीका विषयमा विस्तृत समीक्षा गरिएको थियो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जिल्लाका नौ पालिकाको अनुगमन सम्पन्न भइसकेको जानकारी दिँदै भौगोलिक विकटताको समस्या केही सीमित क्षेत्रमा मात्रै रहेको बताए ।
‘अधिकांश मतदान स्थलमा पहुँच सहज छ, भीमफेदीको एउटा मतदान स्थलमा भने सडक पहुँच नभएकाले पैदल हिँडेर पुग्नुपर्ने अवस्था छ,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अधिकांश पालिकाका मतदान स्थलमा स्थलगत निरीक्षण गरिएको हो। जिल्लाभर सञ्चार सम्पर्कको व्यवस्था रहेकाले सुरक्षाका हिसाबले तयारी सुदृढ बनाइएको उनको भनाइ छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार अब उत्तरी क्षेत्रअन्तर्गत पर्ने इन्द्रसरोवर गाउँपालिकाका मतदान स्थलहरूको समेत अनुगमन गरिने तयारी छ। निर्वाचन पूर्वतयारी अन्तर्गत आवश्यक सुरक्षा योजना, मतपेटिका तथा मतपत्र ढुवानीको व्यवस्थापन, भौगोलिक अवस्थिति र स्थानीय समन्वयबारे छलफल गरिएको जनाइएको छ ।
अनुगमन टोलीमा निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश निर्वाचन कार्यालयका प्रमुख सहभागी थिए। टोलीले अति संवेदनशील र संवेदनशील मतदान स्थलमा विशेष ध्यान दिँदै स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग अन्तरक्रिया पनि गरेको छ ।
जिल्लामा कुल १६७ मतदान स्थल रहेका छन् । तीमध्ये १९ मतदान स्थल अति संवेदनशील, ६० संवेदनशील र ८८ सामान्य श्रेणीमा वर्गीकृत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अति संवेदनशील सूचीमा परेका १९ मतदान स्थलअन्तर्गत २६ मतदान केन्द्र रहेका छन् ।
सबैभन्दा बढी बकैया गाउँपालिकामा ५ मतदान स्थल र ७ मतदान केन्द्र अति संवेदनशील सूचीमा छन्। राक्सिराङमा ६ मतदान स्थल र ६ केन्द्र, बागमतीमा ५ स्थल र ६ केन्द्र, भीमफेदीमा १ स्थल र ३ केन्द्र, मनहरीमा १ स्थल र ३ केन्द्र तथा कैलाशमा १ स्थल र १ केन्द्र अति संवेदनशील सूचीमा राखिएका छन् ।
संवेदनशील सूचीमा ६० मतदान स्थल र १ सय २३ मतदान केन्द्र रहेका छन्। हेटौंडा उपमहानगरपालिकामा ७ मतदान स्थल र ३१ मतदान केन्द्र, थाहा नगरपालिकामा ९ स्थल र १७ केन्द्र, राक्सिराङमा १३ स्थल र १७ केन्द्र, बकैया गाउँपालिकामा ८ स्थल र १५ केन्द्र तथा बागमती गाउँपालिकामा ७ स्थल र १७ केन्द्र संवेदनशील श्रेणीमा परेका छन्।
यसैगरी मकवानपुरगढीमा ४ स्थल र ७ केन्द्र, इन्द्रसरोवरमा २ स्थल र २ केन्द्र, भीमफेदीमा ४ स्थल र ४ केन्द्र, कैलाशमा ३ स्थल र ५ केन्द्र तथा मनहरीमा ३ स्थल र ८ केन्द्र संवेदनशील सूचीमा छन्।
दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्। जिल्ला सुरक्षा समितिले निर्वाचनलाई सुरक्षित, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्न आवश्यक तयारीलाई तीव्र बनाएको जनाएको छ।




प्रतिक्रिया