काठमाण्डु – प्रतिनिधिसभाको निर्वाचन आउन २६ दिन मात्र बाँकी रहँदा मकवानपुर–१ मा चुनावी माहोल तातिएको छ ।
निर्वाचनको मिति जति नजिकिँदै गएको छ प्रतिस्पर्धामा उत्रका उम्मेदवारहरू चुनावी अभियान तीव्र बनाएका छन् ।
उम्मेदवारहरूले सुरु गरेको चुनावी अभियान र सक्रियताले यस क्षेत्रको चुनावी माहोल रोचक बनेको छ । यस क्षेत्रमा यसपटक राजनीतिक दलका १३ र स्वतन्त्र १० गरी २३ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धामा पुरानो नेतासँगै नयाँ युवा पुस्ताका उम्मेदवारहरू उत्रिएका हुन् ।
उम्मेदवारहरू मध्ये केही पुराना र लामो राजनीतिक अनुभव भएका छन् भने केही नयाँ युवा उमेरका उम्मेदवार छन् । कांग्रेसका उपाध्याय र राप्रपाका सिंह पाँचौँ पटक चुनावी प्रतिस्पर्धामा उत्रेका हुन् ।
यसअघि निर्वाचनमा भाग लिइसकेका र निर्वाचित पनि भएकासँगै पहिलो पटक भाग लिएका नयाँ अनुहारबीच प्रतिस्पर्धाले वातावरण झन रोचक बनेको छ ।
यो क्षेत्रमा नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्यय (डिना), नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट विजय गौतम, एमालेबाट रामेश्वर राना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपकबहादुर सिंह उम्मेदवार बनेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाश गौतम, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती, श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठ महर्जन, उज्यालो नेपाल पार्टीबाट सुरेन्द्र लामा चुनावी मैदान छन् ।
हेटौँडा उपमहानगरपालिकाको नगरप्रमुख पदका लागि २०७४ र २०७९ को निर्वाचनमा प्रतिस्पर्धा गरेका राप्रपाका सिंह अघिल्लो २०७९ को निर्वाचनमा यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
कांग्रेसका उपाध्याय निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएपनि हालसम्म सफल हुन सकेकी छैनन् । एमालेका राना, नेकपाका गौतम र रास्वपाका प्रकाश गौतम पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका हुन् ।
तत्कालीन जिल्ला विकास समिति मकवानपुरका सभापति भइसकेका एमालेका राना पाका उमेरका अनुभवी नेताको रूपमा चिनिन्छन् ।
२०७४ र २०७९ को निर्वाचनमा सो क्षेत्रमा गठबन्धन गरेका कारण तत्कालीन नेकपा (माओवादी केन्द्र)को आफ्नो उम्मेदवार थिएनन् । तर पहिलो संविधानसभा निर्वाचनमा सो क्षेत्रबाट तत्कालीन नेकपा (माओवादी केन्द्र)का प्रेमबहादुर पुलामी (छिन्तु) र दोस्रो संविधानसभामा नेकपा (माओवादी केन्द्र) का प्रल्हाद लामिछानेले जितेका थिए । त्यसयता माओवादीले प्रतिनिधिसभामा यो क्षेत्रबाट जित्न सकेको छैन ।
कम्युनिष्ट पार्टीको गढ मानिने यो क्षेत्रमा पहिलो पटक अघिल्लो २०७९ को निर्वाचनमा गैरकम्युनिष्टले जितेको इतिहास छ ।
कांग्रेसले यो क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी हुन सकेको छैन । यसपटक फरक परिस्थिति र समयमा प्रतिनिधिसभा निर्वाचन हुन लागेकाले चुनाव आफूले जित्ने उम्मेदवारहरूले दाबी गर्दै आएका छन् ।
यो क्षेत्रमा हेटौँडा उपमहानगरपालिकाको १५ वटा वडा, मकवानपुरगढी गाउँपालिका चार वटा वडा, बागमती गाउँपालिका र बकैया गाउँपालिका पर्छन् ।
यस क्षेत्रमा ७९ हजार ६२१ पुरुष र ७८ हजार ८१० महिला गरी एक लाख ५८ हजार ४३५ मतदाता छन् ।




प्रतिक्रिया