मलेसियाको कलिङ भिसा लागेका कामदारले भोलिदेखि श्रम स्वीकृति पाउने


काठमाडौं – वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेखेर कलिङ भिसा आएकाहरुलाई मलेसिया जान अन्तिम श्रम स्वीकृति दिन अनुमति दिएको छ । यसअघि नै कलिङ भिसा पाइसकेकाहरूले भोलिदेखि मलेसियाका लागि श्रम स्वीकृति पाउने भएका हुन्।

सरकारले मलेसिया जाने कामदारलाई विभिन्न बाहनामा थप शुल्क लगाएर ठगी गरिएको भन्दै गत जेठ १२ गतेबाट मलेसियाका लागि श्रम स्वीकृति दिन रोकेको थियो । विभिन्न विचौलिया संयन्त्रमार्फत कामदारलाई सिन्डिकेट लादेर ठगी भएको भन्दै श्रम मन्त्री गोकर्ण बिष्टले ठगी गर्नेमाथि कारवाही चलाएका थिए । नेपाल सरकारको तथ्यांकअनुसार अहिलेसम्म ७ हजार नेपालीले यस्तो भिसा लिएका छन् तर सरकारले श्रम स्वीकृति रोखेकाले जान पाएका थिएनन्।

वैदेशिक रोजगार विभागले मलेसियन राजदूतावासबाट भिसा स्वीकृत गराउन वैदेशिक रोजगार व्यवसायी संघलाई जिम्मा दिएको छ। भोलिदेखि कलिङको लागि खुले पनि नयाँको लागि भने एक महिना लाग्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए। ‘आज विभागसँग भएको छलफलमा भोलिदेखि कलिङ भिसाका लिएकाहरूलाई भोलिदेखि श्रम स्वीकृति दिने सहमति भएको छ। नयाँका लागि एक महिना लाग्ने छ’ उनले भने,‘संघको तर्फबाट गर्ने सहयोग हामी गर्छौं।’

सरकारले केही समयभित्रै नयाँ कामदारलाई पनि मलेसिया जान दिने गरी प्रक्रिया अघि बढाउने बताएको छ । मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठाइसकेकाले कामदारको स्वास्थ्य जाँचमा योग्य नयाँ अस्पताल तथा स्वास्थ्य संस्थालाई सूचीकृत हुन सरकारले सूचना जारी गरिसकेको छ ।

यसअघि मलेसियाले ३९ वटा स्वास्थ्य संस्थालाई मात्रै कामदारको स्वासथ्य परीक्ष्ण गर्न सक्ने गरी तोकेको थियो । अब भने मापदण्ड पुरा गर्ने सरकारी स्वास्थ्य संस्थासहित सबैले यसमा दावेदारी राख्न पाउनेछन् । यो सँगै झण्डै १० महिनापछि मलेसियामा कामदार पुन पठाउन सुरु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement