काठमाडौं – नेपाली कामदारको प्रमुख गन्तव्यका रुपमा रहेको मलेसिया रोजगारी खुलाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यसका लागि नेपाल र मलेसियाका प्राविधिक समितिबीच भदौ २४-२५ गते बैठक बस्ने भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार नेपाल र मलेसियाबीच संयुक्त बैठकपश्चात रोजगारी खुल्नेछ। दुवै देशले आवश्यक प्रक्रिया पूरा गरिसकेकाले लामो समयदेखि बन्द मलेसिया रोजगारी छिट्टै खुल्ने भएको हो। मलेसिया जाने कामदारमाथि आर्थिक शोषण भएको भन्दै सरकारले मलेसिया रोजगारी बन्द गरेको थियो ।
नेपाल र मलेसियाबीच कात्तिक १२ गते श्रम सम्झौता भएको थियो। सम्झौताकै दिन संयुक्त प्राविधिक समितिको बैठक बसे पनि त्यसपछि बस्न सकेको छैन। जेनेभामा भएको आईएलओको शतवार्षिकीका अवसरमा श्रम सचिव महेशप्रसाद दहाल र मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरानबीच भएको छलफलले एक महिनाभित्र संयुक्त बैठक बस्ने निर्णय निर्णय गरेको थियो। आवश्यक प्रक्रिया पूरा नभएको भन्दै यसअघि तय भएको बैठकसमेत स्थगित भएको थियो।
मलेसियाले पठाएको स्वास्थ्य परीक्षण मापदण्डअनुसार मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न एक सय २२ वटा स्वास्थ्य संस्था छनोट गरेको छ। उक्त सूची सरकारले साउन २१ मा मलेसिया पठाएको थियो। स्वास्थ्य परीक्षणमै कुरो नमिल्दा सम्झौता भएको १० महिना बितिसक्दा पनि कामदार मलेसिया जाने बाटो बन्द भएकाे हो।




प्रतिक्रिया