काठमाण्डु –खानेपानीमन्त्री मणी थापाले सुर्खेतमा ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत मन्त्री थापाले शनिबार सुर्खेतमा ‘श्री ५ को सरकार’ भनेकोमा सार्वजनिक रुपमा माफी मागेका हुन् ।
उनले आफूले पुरै राजनीतिक जीवन परिवर्तनमा बिताएको भन्दै भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा मागेका हुन् ।
‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ’, उनले भनेका छन्, ‘आम नेपाली नागरिक, मेरो शुुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु । मेरो पुरै राजनीतिक जिवन, क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’
‘सबैलाई म सम्मान गर्न चाहन्छु, जो मञ्चमा आशिन हुनुहुन्छ । र सुर्खेतका आदरणीय जनसमुदायहरू, म सबैलाई नेकपा स्थायी कमिटीको तर्फबाट र श्री ५ को सरकारबाट…ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईहरूलाई लालसलाम भन्न चाहन्छु’, उनले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भनेका थिए ।




प्रतिक्रिया